मंसिर २६
नेपाल वेलहोप एग्रिटेक प्रा. लि.ले मोरङको ग्रामथान गाउँपालिकामा दाना उद्योग स्थापना गरेको छ। चितवन र कोहलपुरमा दानाको उत्पादन गरिरहेको यो कम्पनीले व्यवसायिक उत्पादन सुरु गरिसकेको छ।



नेपालको औद्योगिक घराना वैद्य अर्गनाइजेसन र चिनियाँ कम्पनी वेलहोपको १ अर्ब रुपैयाँको संयुक्त लगानीमा यो उद्योग स्थापना भएको हो। उद्योगबाट कुखुरा, सुँगुर–बंगुर, गाई–भैंसी र माछाका लागि मौसम र स्वादअनुकूलको ४२ प्रकारका ‘विजय’ ब्रान्डमा पेलेट दाना उत्पादन हुन थालेको छ।
हाल दैनिक १६ घण्टा संचालन हुने उद्योगबाट प्रतिघण्टा २० टन दाना उत्पादन गरिँदै आएको छ। निकट भविष्यमै बाख्राका लागि पनि दाना उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ। उद्योगले दाना उत्पादनको सबैभन्दा नयाँ प्रविधिलाई अपानाउँदै नेदरल्यान्ड्सको भेन आर्सन मेसिनको प्रयोग गरिएको छ।
कम्पनीका उत्पादन प्रमुख डम्बर आलेले सो मेसिन गुणस्तरीय दानाका लागि संसारमै प्रसिद्ध भएको र नेपालमा पहिलोपटक प्रयोगमा आएको दाबी गरे। आलेले सो मेसिन पूर्ण रूपमा स्वचालित मेसिन भएकाले दानाको गुणस्तरमा सधैँ एकरूपता कायम हुने पनि दाबी गरे।
आलेले भने, ‘पहिले पेलेट दाना बनेपछि तेल मिक्स गर्ने गरिन्थ्यो। त्यसो गर्दा दाना नरम हुने र धुलोको मात्रा बढी हुने समस्याले गर्दा चल्लाले खान सक्दैनथे। यो मेसिनले ओइल स्प्रे दाना उत्पादन गर्छ। यस्तो दाना कडा हुन्छ र यसमा धुलोको मात्रा अत्यन्त कम हुन्छ। यसले गर्दा दाना खेर जाने समस्या हुँदैन। जसका कारण पशुपन्छीले सहजै सबै खान्छन् र त्यसमा भएको पोषक तत्व लिन्छन्।’
उनले उद्योगबाट उत्पादित दाना ‘प्लास्टिक लेमिनेटेड’ बोरामा ‘प्याकेजिङ’ गरिने बताए। यसले वायुमण्डलको ‘मोइस्चर’ तान्ने सम्भावना कम हुने र दानाको आयु अन्य दानाको भन्दा राम्रो हुने बताइएको छ। कम्पनीका सेल्स हेड जितेन्द्र लामाले अत्याधुनिक प्रविधिबाट उत्पादित पेलेट दानाको मूल्य प्रतिस्पर्धी देखिए पनि दाना खपत कम हुने र उत्पादकत्व बढी हुने हुँदा किसानले अन्य दानाका तुलनामा बढी फाइदा लिनसक्ने जिकिर गरे।
लामाले भने, ‘मुलुककै सर्वाधिक धेरै दाना उत्पादन क्षमता भएको कम्पनी भएकाले किसानहरूलाई चाहिएका समय र स्थानमा सहज रूपमा दाना उपलब्ध गराउन सक्छौं। बजारको माग परिपूर्ति गर्ने गरि हामीले नयाँ उद्योगमार्फत् उत्पादन थालेका हौं।’
विजय पेलेट दानाको विराटनगर शाखाका बजार व्यवस्थापन प्रमुख कुमार पौडेलले भारतीय सुपरब्रिड मकै र विदेशबाट आयातित अन्य कच्चा पदार्थबाट विजय ब्रान्डका दानाको उत्पादन भइरहेको बताए।
ग्रामथान गाउँपालिकाको ग्रामथानमा साढे तीन बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा सय जनाभन्दा बढीले रोजगारी पाएका छन्। वातावरणीय प्रदूषणलाई न्यूनीकरण गर्न उद्योगले चिम्नीमा ‘मेकानिकल डस्ट कलेक्टर’ प्रयोग गरेको छ। यसले धुलो बाहिर जान नदिने र उद्योगक्षेत्रआसपास प्रदूषण नहुने प्राविधिकको दाबी छ।
उद्योगले दाना उत्पादनका अलावा किसानको हितका लागि पशुपन्छी–पालनसम्बन्धी तालिम दिन प्राविधिक सुबिधा उपलब्ध पनि गराउने गरेको छ। किसानको फार्म निरीक्षणका लागि प्राविधिकको टोली पठाउने र किसानलाई आवश्यकताअनुसारको परामर्श सेवा उपलब्ध गराउने काम पनि कम्पनीले गरिरहेको छ।
कम्पनीको आफ्नै अत्याधुनिक प्रयोगशाला भएकाले कच्चा पदार्थ र उत्पादनको नियमित परीक्षण र प्रशोधन गरेरमात्र बजारीकरण हुने व्यवस्थापनले जनाएको छ।



