भदौ ३०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल र चीनको व्यापारिक कारोबारमा भुक्तानी प्रणाली सहजताका लागि नेपालमा चीनलाई पूर्वाधारमा लगानी वा चाइनिज बैंकको संस्थागत व्यवस्थाको पहल गर्न आग्रह गरेको छ ।



सूचना प्रविधिको विकाससँगै व्यापारिक कारोबारमा अनलाइन भुक्तानीले सहज बनाए पनि पूर्वाधारमा लगानी वा चाइनिज बैंकको संस्थागत व्यवस्थाको पहल गर्न रास्वपाले आग्रह गरेको हो । रास्वपाको केन्द्रीय उद्योग तथा वाणिज्य विभागले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयलाई वोधार्थ दिँदै रास्वपाले विज्ञप्ति जारी गरेको हो ।
विज्ञप्तिमार्फत् रास्वपाले नेपाल र चीनबीच गैर–पारस्परिक (एकपक्षीय) सौविध्य व्यवहार आवश्यक रहेको भन्दै खुला व्यापार सम्झौता नेपालका लागि फाइदाजनक नहुने जनाएको छ ।
’उत्पादनहरु, सम्भाव्य निकासी गर्न सकिने वस्तुहरुको सूची तयार गरी चीनसँग नेपालले गैर–पारस्परिक (एकपक्षीय) सौविध्य व्यवहार गर्नु अति आवश्यक छ । नेपालले तुलनात्मक रुपमा लाभ लिन नसक्ने हुँदा खुला व्यापार सम्झौता गर्न फाइदाजनक नहुने हाम्रो पार्टीको बुझाइ रहेको छ,’ रास्वपाको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल र चीनबीच भुक्तानी सम्बन्धी पहिलो पटक व्यापार र भुक्तानी सम्झौता सन् १९८१ नोभेम्बरमा भएको थियो ।



