भारतीय दूतावासद्वारा सम्भोतारभोटी लिपिसम्बन्धी चित्रकला प्रदर्शनी

२०८० भाद्र ३०, शनिबार
पढ्ने समय : < 1 मिनेट

भदौ ३०

भारतीय राजदूतावास काठमाडौँ, बिपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासङ्घले संयुक्तरूपमा नेपाल कला परिषद्, बबरमहल, काठमाडौँमा सम्भोतारभोटी लिपिसम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरेको छ।

कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, नेपाल बौद्ध महासङ्घका अध्यक्ष खेनपो कमल भण्डारी र बौद्ध दर्शन प्रवर्द्धनका अध्यक्ष खेनपो गेशे थुप्तेन जिक्डोलले संयुक्तरूपमा गरेका छन।

सिक्किम भारतबाट आएका क्यालिग्राफर जाम्याङ दोर्जीले पवित्र बौद्ध मन्त्रको सुलेखन प्रयोग गरेर कोरिएका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरू प्रदर्शनीमा राखिएका छन्। दोर्जीले सहभागीलाई सम्भोता लिपिको शैली र प्रयोगको प्रत्यक्ष प्रर्दशन गरी सो लिपिमा आफ्नो नाम लेख्न सिकाएका थिए।

राज्यमन्त्री प्रमिलाले कुनै पनि राष्ट्रको संस्कृति र परम्परा सो राष्ट्रको मुटु र आत्मा भएको उल्लेख गर्दै नेपाल र भारतका लागि बौद्ध धर्म एक साझा धागो भएको बताइन्।

जाम्याङ दोर्जीले भारत र नेपालको हिमाली क्षेत्रमा भोटी लिपिको अझै पनि प्रयोग भइरहेको उल्लेख गरे। उनले नेपालमा शताब्दीयौँदेखि पवित्र र महत्त्वपूर्ण बौद्ध साहित्य लेखनमा प्रयोग हुँदै आएको रञ्जना लिपिको पनि आफ्नो समृद्ध परम्परा रहेको बताए।

कार्यक्रममा सांसद, विभिन्न गुम्बाका प्रतिनिधि, बौद्ध सङ्घसंस्था तथा भोट तथा बौद्धधर्म अध्ययनरत विद्यार्थीको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय