भदौ २६,
चीनसित जोडिएको पश्चिम नेपालको टिंकरस्थित छियालेकमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) सञ्चालनमा आएको छ । दार्चुला सदरमुकाम खलंगाबाट १ सय १२ किलोमिटर टाढा रहेको नेपाल–चीन र भारतको त्रिदेशीय बिन्दु टिंकरमा बीओपीको गत शुक्रबार उद्घाटन गरिएको हो ।
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले सशस्त्रको टिंकरस्थित २ सय ५ औं बीओपी भवनको उद्घाटन गरेका हुन । जहाँ सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा उत्तरी सीमा टिंकरमा सुरक्षाकर्मीको उपस्थिति देखाएको छ । सुरक्षा तथा सीमापार अपराध नियन्त्रणका लागि सशस्त्रले उत्तरी नाकामा आफ्नो पोस्ट थप्दै लगेको छ । टिंकरसँगै उत्तरी छिमेकी चीनसँगका ९ नाकामा सशस्त्रले बीओपी राखेर सीमाक्षेत्र निगरानी गरिरहेको छ ।
यसअघि हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, रसुवाको टिमुरे, संखुवासभाको किमाथांका र ताप्लेजुङको ओलाङचुङगोलामा बीओपी स्थापना गरिसकेको छ । चीनतर्फ ९ र भारततर्फ २ सय ४३ गरी २ सय ५२ स्थानमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी तैनाथ रहेको दाहालले जानकारी दिए । व्यास गाउँपालिका–१ छाङ्रुमा सशस्त्र प्रहरीको गुल्म छ । उत्तरी नाकाको सुरक्षा र निगरानी छाङ्रुबाटै हुने गरेकोमा अब टिंकर बीओपीबाट हुने सशस्त्र प्रहरीले जनाएको छ । छाङ्रु गुल्मबाट टिंकर बीओपी ११ किलोमिटर दूरीमा छ । ३ हजार ८ सय मिटर उचाइमा रहेको टिंकरमा सशस्त्र प्रहरी निरीक्षक जनकबहादुर पौडेलको नेतृत्वमा २० जनाको टोली खटिएको छ ।



टिंकर बीओपी निर्माणका लागि एक करोड लागतमा टेन्डर आह्वान गरिएको थियो । धुलिखेल प्याराडाइज एलबी जेभीले ८७ लाख रुपैयाँमा पाएको ठेक्कामा प्रिफ्याब दुई वटा भवन र त्यसभित्र दुई बाथरुम, एउटा किचेन र बाहिर दुई बाथरुम निर्माण गरेको छ । टिंकर छोटी भन्सार कार्यालयको जग्गामा निर्माण गरिएको सशस्त्रको यो बीओपीले तिब्बत भएर हुने चोरी तस्करी, सिकार नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई निगरानी तथा नियन्त्रण गर्न सहयोग पुग्ने जनाएको छ ।
दार्चुला सशस्त्र प्रहरीको गण र व्यास क्षेत्रमा गुल्मको संरचना स्थापनासँगै दुम्लिङ, दत्तु, जोलजीवी सुन्सेरा र लालीमा बीओपीहरूले सीमामा सुरक्षा दिइरहेका छन । सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा दिन थालेपछि अहिले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय सहज भएको बताउँछन । टिंकर गाउँबाट दुई किलोमिटर दूरीको छियालेकमा सशस्त्रको बीओपी र नेपाल प्रहरीको सीमा चौकी छ । छियालेकभन्दा माथि मानव उपस्थिति छैन । यहाँबाट सात÷आठ घण्टाको उकालो पैदल यात्रा गरेपछि नेपाल र चीनको सिमाना छुट्याउने टिंकर भन्ज्याङको १ नम्बर पिलरमा पुगिन्छ । अहिले चीनले उक्त नाका कोरोना कालदेखि बन्द गरेको छ । बन्द रहेको टिंकर नाका सञ्चालनका लागि व्यास गाउँपालिका–१ का छाङ्रु र टिंकर गाउँका बासिन्दाले माग गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी उपस्थित रहेको उक्त कार्यक्रममा यहाँका स्थानीयले नाका बन्द भएपछि आफ्नो रोजीरोटीमा समस्या भएको बताएका छन । हाम्रो परम्परादेखि नै त्रिदेशीय व्यापार चल्दै आएको र अहिले विगत चार वर्षदेखि नाका नखोलिँदा व्यापार नै बन्द भएको छाङ्रुका जगतसिंह ऐतवालले बताए । टिंकर बीओपी उद्घाटनमा प्रजिअ किरण जोशी, सशस्त्र प्रहरी ४४ नम्बर गणका गणपति डम्मरबहादुर विष्टलगायत सुरक्षाकर्मी र स्थानीयको उपस्थित थिए ।



