एमसीसीको प्रसारण लाइन बनाउन ६ भारतीय कम्पनीले मात्रै गरे प्रस्ताव

२०८० जेष्ठ ८, सोमबार
पढ्ने समय : < 1 मिनेट

जेठ ८,
अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्र्तगत बन्ने प्रसारण लाइन निर्माणको लागि ६ वटा प्रस्ताव परेको छ । निर्धारित समयमा ६ वटा भारतीय कम्पनीले मात्रै बोलपत्र प्रस्ताव गरेका हुन् । सोमबार यी प्रस्ताव खोलिएको छ ।
विश्वव्यापी रुपमा आह्वान गरिएको बोलपत्रमा मेगा इञ्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडको संयुक्त, कल्पतरु पावर ट्रान्समिसन लिमिटेड, केईसी इन्टरनेसनल लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड र लार्सन एण्ड टर्बो लिमिटेडबाट बोलपत्रहरू प्राप्त भएको एमसीए नेपालले जनाएको छ ।

आगामी भदौ मध्यबाट परियोजना निर्माण समय सुरु हुँदैछ । त्यसका लागि एमसीए नेपालले ठेक्का प्रक्रिया पूरा गर्न लागेको हो ।पूर्वतयारी अन्तर्गत अन्य काम सकिए पनि जग्गा मुआब्जा नटुंगिएको मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले जानकारी दिए । परियोजना अन्तर्गत विद्युत् प्रसारण लाइनले नेपालबाट भारतसम्म पूर्वाधार तयार गर्नेछ । बुटवलबाट भारतको गोरखपुरसम्म नेपाल र भारतको संयुक्त लगानीमा बन्ने सीमापार प्रसारण लाइन निर्माणलाई उक्त पूर्वाधारले सहजीकरण गर्ने एमसीए नेपालले बताएको छ ।

एमसीए नेपालका अनुसार ३१५ किमि लामो डबल सर्किटयुक्त ४०० केभी प्रसारण लाइनअन्तर्गत ४०० केभी क्षमताका तीन वटा नयाँ सबस्टेसन निर्माण गरिनेछ । काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र परासी गरी १० जिल्ला छोएर प्रसारण लाइन जाने र कतिपय जिल्लामा मुआब्जाको काम बाँकी रहेको एमसीए नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय