प्रचण्डलाई मायादेवी मन्दिर भन्दा चिनियाँ बिहार प्यारो !

२०८० बैशाख २३, शनिबार
पढ्ने समय : 2 मिनेट

बैशाख २३

लुम्बिनीस्थित पर्यटन व्यवसायी त्यहाँ रहेका विभिन्न मुलुकका बिहारले बौद्ध धर्मावलम्बी राख्दा आफूहरु मारमा परेको दुखेसो पोख्दैं आएका छन् । लुम्बिनीमा आएका धर्मावलम्बीलाई बिहार र गुम्बाले राख्दा होटल पाहुना बिहीन भएको बताउँछन् । हुन पनि चीन, थाइल्याण्ड, म्यानमार, श्रीलंका लगायत बिहारले आफ्नो मुलुकबाट आएका श्रदालुलाई बिहारमै राख्ने गरेका छन् । त्यसले लुम्बिनीको पर्यटन फस्टाउन नसकेको व्यावसायी बताउँछन् ।

यसपटक पाहुना मात्र होइन मुलुकका प्रधानमन्त्री समेत बुद्ध जन्मस्थल मायादेवी मन्दिर प्रवेश गरेनन् । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार दिउँसो लुम्बिनीको पश्चिमी क्षेत्रमा रहेको चिनियाँ बिहारमा एक घण्टा बिताए । यसले बुद्ध धर्मावलम्बी र स्थानीय सरोकारवालालाई बेखुसी तुल्याएको छ । यसपटक प्रत्येक वर्ष बुद्ध जयन्ती समारोहमा सहभागी हुन आउने प्रमुख व्यक्तिले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजा गर्ने परम्परा समेत तोडियो ।

शुक्रबार २५६७औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसमा सहभागी हुन आएका प्रधानमन्त्री दाहाल यसपटक मायादेवी प्रवेश नगरी चिनियाँ बिहारमा आराम गरेर फर्किएका थिए । अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा आयोजित बिशेष समारोहमा सहभागी भएपछि खाना खाएर चीनको बिहार पुगेका थिए । ‘प्रधानमन्त्रीले मायादेवी मन्दिर नटेकेपछि हामीले चित्त दुखाएको हौं,’ लुम्बिनीका एक होटल व्यवसायी ले भने ।

लुम्बिनी विकास कोष का सदस्य सचिब सानुराजा शाक्यले प्रधानमन्त्री दाहालले लुम्बिनीमा दुई घण्टा मात्र समय बिताउने जानकारी दिएकाले समय तालिका मिलाउन सम्भव नभएको बताए । लुम्बिनी बिकास कोषले प्रधानमन्त्रीलाई मायादेवी मन्दिर प्रवेशका लागि प्रस्ताब गरेको उनले बताए । ‘ब्यस्तताले मात्र नजानु भएको हो,’ शाक्यले भने,
प्रधानमन्त्रीको कार्यक्रम दुई घण्टाका लागि तय गरिएको जानकारी दिइएको थियो । तर, उनले बुद्ध जन्मस्थलमा करिब चार घण्टा बिताएका थिए । बिहान ९ बजेर १५ मिनेटमा हेलिकप्टर मार्फत यहाँ ओर्लिएका थिए । औपचारिक कार्यक्रम एक घण्टा ३५ मिनेटको रहेको थियोे । उक्त अवधि कार्यक्रम स्थलमा बिताए । लुम्बिनी बिकास कोषका अनुसार कार्यक्रम समापनपछि कासाई होटलमा खाना खाएका थिए ।

त्यस लगत्तै १२ बजेर १५ मिनेटमा लुम्बिनीको पश्चिमी क्षेत्रमा रहेको ब्रजयान विहार अवलोकन गन पुगेका थिए । त्यसपछि चीन सरकार मातहत रहेका जोङहुवा टेम्पलमा उनले एक घण्टा बढी बिताएका थिए । प्रधानमन्त्री दाहालसित चिनियाँ राजदूत चेन सोङपनि सँगै थिए । उक्त बिहारमा बुद्धिष्ट एशोसिएसन अफ चाइनाका उपाध्यक्ष मास्टर ईनसुन पनि थिए । प्रधानमन्त्री दाहाल सहित चिनियाँ राजदूत चेन सोङ , लुम्बिनी प्रदेश का मुख्यमन्त्री डिल्ली बहादुर चौधरी लगायतले चीन सरकार मातहत रहेको जोङहुवा टेम्पलमा आयोजना गरिएको एउटा कार्यक्रम मा सहभागी भएका थिए ।
लुम्बिनी विकास कोषले पूजा परम्पराबारे प्रमलाई बुझाउन नसक्दा यस्तो भएको हुनु पर्ने लुम्बिनीस्थित नेपाल विहारका प्रमुख भिक्षु सागरधम्मले बताए । ‘विदेशी राष्ट्राध्यक्ष र सरकार प्रमुख जहाज चार्टर गरेर लुम्बिनी आउँछन उनले भने, ‘हामीले नजिकको तीर्थ हेला गरे जस्तो लाग्यो ।’ आफू कोषमा भएको भए प्रधानमन्त्रीलाई कन्भिन्स गरेर जसरी पनि मन्दिर लैजाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय