फागुन २६
नारायणगढ–बुटवल खण्डमा यात्रा सहज नहुँदा यात्रुले सास्ती खेप्नु परिरहेको छ । यस्तो अवस्थाबाट कहिले मुक्ति मिल्छ पत्तो छैन । सडकको अवस्था भद्रगोल भएकाले दुर्घटना बढिरहेका छन् । साना सवारीका साधनमा यात्रा असहज छ । ठूला सवारीमा यात्रा गर्न घण्टौं लाग्ने गरेको छ । यस खण्डका ठेकेदारले सडकको धुलो नियन्त्रण गर्न सकेका छैनन् ।
ठूला खाडल पुरेर सहज तुल्याएका छैनन् । जसले गर्दा सर्वसाधरण दिक्दारी व्यक्त गर्न बाध्य छन् । यो खण्ड फराकिलो बनाएर कहिले सकिन्छ ठेगान छैन । गत २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीको बुटवलमा यस खण्ड विस्तार कार्यको शिलान्यास गरे । तीन वर्षमा विस्तार पूरा गर्ने जानकारी गराइएको थियो । लक्ष्य अनुसार कामले गति लिएन । अहिले चार वर्ष बित्यो । उक्त मार्ग अन्तर्गत बुटवल–भूमही खण्ड पार गर्न १ घण्टा ३० मिनेट भन्दा बढी समय लाग्छ ।
सडक विस्तार सुरु हुनुभन्दा अगाडि ४५ मिनेटमा बुटवलबाट भूमही पुगिन्थ्यो । अहिले ठाउँठाउँमा रहेको डाइभर्सन र सडकको खाल्टाखुल्टीले दोब्बर समय लाग्ने भएको छ । ठूला सवारी साधनलाई यो सडकको दूरावस्थाबाट दुर्घटना तथा सवारी बिग्रने समस्या छ भने मोटरसाइकल र साना सवारीलाई नारायणगढदेखि बुटवलसम्मको यात्रा निकै कष्टकर हुने गरेको छ । बुटवलबाट नारायणगढ पुग्नै दिन वित्छ ।



पानी नपरेको अवस्थामा पनि रेनकोट लगाएर हिंड्नुपर्ने र मास्क, चस्मा नलगाउने हो भने २ किलोमिटर यात्रा गर्न पनि नसकिने अवस्था रहेको स्थानीय बताउँछन । २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले ठेक्का सम्झौता गरेर काम सुरु गरेको थियो । तर, चार वर्षमा २५ प्रतिशत मात्रै काम भएको छ ।
यही ठेकेदार र कामको यही गति रहने हो भने यो काम सम्पन्न हुन अझै १२ वर्ष लाग्छ । ठेकेदारले भने पटक–पटक कोरोना कहर, नदीजन्य पदार्थको अभाव, रुख कटान र बिजुलीको पोल समयमा नसार्दा काम ढिलो भएको जिकिर गर्दै आएको छ । नारायणगढ–बुटवल सडक पूर्वी खण्ड योजना प्रमुख रमेशकुमार दिष्टीका अनुसार गत साउन २२ गते ३ सय ८६ दिन म्याद थप गराएको छ । यो समयसम्ममा ५० प्रतिशत काम सम्पन्न हुने लक्ष्य लिएको छ ।
‘थप भएको समयमा पनि काम सम्पन्न हुने देखिँदैन । तर, अधिकतम काम गर्ने प्रतिबद्धता ठेकेदार पक्षले गरेको छ,’ उनले भने, ‘अहिले ठेकेदार पक्षले कामदार बढाएको र कामले पनि केही प्रगति गरेको छ । हामीले ठेकेदार पक्षलाई पटक–पटक दबाब दिएका छौं, काम छिटो गर्न र धूलोरहित तबरले काम गर्नका लागि । तर, जनताको गुनासो आइरहेको छ ।’ पश्चिम खण्डमा पनि २५ प्रतिशतकै हाराहारीमा काम भएको छ ।



