कार्तिक २८
निर्वाचनको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा रहेका चीनका संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुनले आइतबार बसन्तपुरस्थित नौतले दरबारको अवलोकन गरेका छन् ।
२०७२ सालको भूकम्पमा भत्किएको उक्त दरबारको पुनर्निर्माणमा चीनले आर्थिक र प्राविधिक सहयोग गरेको हो । चीनको राष्ट्रिय संस्कृति सम्पदा प्रशासनका निर्देशकसमेत रहेका उपमन्त्री ली आफू नेपाल ओर्लिएको तेस्रो दिन आइतबार दिउँसो बसन्तपुर पुगेर दरबारको सबै तलाको अवलोकन गरेका हुन् । चीनले उक्त दरबार पुनर्निर्माणको लागि करिब १५ करोड रुपैयाँ अनुदान सहयोग गरेको थियो ।
उपमन्त्री ली दिउँसो ३ बजे आफ्नो भ्रमण दलका प्रतिनिधि र काठमाडौंस्थित चिनियाँ राजदूतावासका पदाधिकारीहरूसहित बसन्तपुर पुगेका थिए । अनौपचारिक भ्रमणमा नेपालमा रहेका चिनियाँ उपमन्त्री लीलाई बसन्तपुरमा पनि स्वागतको लागि कुनै पनि कार्यक्रम राखिएको थिएन । ‘उहाँ आफ्नो टोलीसँग आउनु भएको थियो । नौतले दरबार अवलोकन गर्नुभयो । उहाँले दरबारका हरेक तला रुचीपूर्वक अवलोकन गर्नुभयो,’ हनुमान ढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले भने । उक्त बसन्तपुरको दरबार क्षेत्र युनेस्को विश्व सम्पदा सूचीमा बसन्तपुर दरबार क्षेत्र पनि सामेल छ । पृथ्वीनारायण शाहले उपत्यकाका तीनवटै सहर जितेपछि उक्त दरबारमा आएर बसेका थिए ।



चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अक्टोबरमा २० औं महाधिवेशन पूरा भएर राष्ट्रपति सी चिनफिङलाई थप ५ वर्षको लागि नेतृत्व प्रदान गरेपछि बेइजिङबाट काठमाडौंमा पहिलो पटक भ्रमण भएको हो । उपमन्त्री ली भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्नका लागि आएका हुन् । उनले भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र साथै नुवाकोट दरबार क्षेत्र पनि अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
नेपालमा निर्वाचन आइरहेको र त्यसपछि मात्र बेइजिङबाट काठमाडौं आउनको लागि नेपालको परराष्ट्र मन्त्रालय र संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले चिनियाँ दूतावासलाई जानकारी दिएको थियो । तर चिनियाँ पक्षले उपमन्त्री लीको भ्रमण निजी मात्र हुने र सांस्कृतिक सम्पदाको निरीक्षणमा केन्द्रित हुने दाबी गरे । बसन्तपुरमै अमेरिकाले पनि भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गरेको थियो ।
काठमाडौंमा रहेका चिनियाँ उपमन्त्री लीले अन्य केही भेटवार्ता गरेको वा नगरेको भन्ने बारेमा केही पनि कुरा सार्वजनिक गरिएको छैन । उनको भ्रमणलाई लिएर परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय, चिनियाँ दूतावास लगायत कुनै पनि निकायले बाहिर जानकारी ल्याएका छैनन् ।



