कार्तिक ५
रुपन्देहीको रोहिणी गाउँपालिकाले धकधइमा कुस्ती प्रतियोगिता आयोजना गर्ने भएको छ । शनिबार धकधइमा पत्रकार सम्मेलनको आयोजना गरि गाउँपालिकामा युवाहरुलाइ कुस्तीप्रति आकर्षित गर्न तथा उनिहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै कुस्तीको आयोजना गर्न लागिएको गाउपालिकाले जनाएको छ ।
गाउँपालिकामा रहेका युवाहरुलाइ कुलतमा लाग्न नदिन, संस्कृतिको संरक्षण, प्राचीन खेलको संरक्षण लगायतको उद्देश्य राखी गाउँपालिकाबाट नै ५ लाख रुपैया बिनियोजन गरि कुस्ती प्रतियोगिताको आयोजना गर्न लागिएको गाउपालिका अध्यक्ष बिधा प्रसाद यादवले जानकारी दिए ।



उनले यसलाई यस बर्ष मात्र नभई गाउँपालिकाको नियमित योजनामा राखी निरन्तरता दिइने जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका गरि २५ जना भन्दा बढी पहलवान सहभागी हुने गाउपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्रीले जानकारी दिए ।
कार्तिक १५ र १६ गते आयोजना हुने प्रतियोगितामा प्रथम हुने पहलवानलाई नगद १ लाख १ हजार १ सय ११ रुपैया, दोश्रो हुनेलाइ ५० हजार ५ सय ५५ रुपैया, तेश्रोलाई २५ हजार २ सय २५ रुपैया एवम १५ हजार १ सय २५ रुपैयाको सान्त्वना पुरस्कार बितरण गर्ने क्षेत्रीले जनाए ।
प्रतियोगितामा स्थानिय स्तरमा रहेका पहलवानका साथै नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा सहभागी पहलवान र भारत हरियाणा, दिल्ली, बिहार, उत्तर प्रदेशका नामी पहलवानहरुले भाग लिने उनले जनाए । कार्यक्रममा १५ हजार बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ।
गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाले कुस्ती मात्र नभइ अन्य खेलकुदलाइ पनि क्रमशः प्रवर्द्धन गर्दै लैजाने बताए । खेलकुदले पालिकाका युवाहरुलाई सहि बाटोमा निर्देशित गर्ने भएकोले पालिकाले खेलकुदमा ध्यान दिने उनले बताए । पत्रकार सम्मेलनको सन्चालन गाउपालिकाका योजना तथा अनुगमन शाखाका प्रमुख राजकुमार मिश्रले गरेका थिए ।



