उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा रक्तदान

२०७९ आश्विन २८, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

असोज २८
उद्योग व्यापार संगठन रुपन्देहीले शुक्रबार भैरहवामा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । १५ औं वार्षिक साधारणसभाको पूर्व संध्यामा कार्यक्रम गरिएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । संगठनले उद्योगी व्यवसायको हकहितसँगै सामाजिक कार्य पनि गर्दै आएको ज्ञवालीले बताए ।
सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको भवन परिसरमा भएको कार्यक्रममा १८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक प्रकाश प्रसाद श्रेष्ठले बताए ।
कार्यक्रममा उद्योग व्यापार संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्नु पुनित कार्य भएको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले रक्तदान कार्यक्रमबाट संकलित रगत बिरामीको उपचारमा काम लाग्ने भएकाले यस्ता कार्यक्रम आगामी दिनमा पनि गर्नुपर्ने बताए ।
उद्योग व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक प्रकाश प्रसाद श्रेष्ठको स्वागत तथा संगठनका महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
संगठनको १५ औं वार्षिक साधारणसभा भोलि (शनिबार) भैरहवामा हुने कोषाध्यक्ष राम मिलन यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय