भदौ ३०,
परराष्ट्र मन्त्रालयले भारतीय सेनाको अग्निपथ कार्यक्रम अन्तर्गत गोर्खा सैनिकको भर्तीसम्बन्धी निर्णय चुनावअघि नहुने कुरा दोहो¥याएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अहिले उक्त विषय थाती राखिएको जनाएकी हुन् ।
भारतीय सेनाध्यक्ष मनोज पाण्डेले नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको अग्निपथ भर्ती तत्काललाई फिर्ता हुने अभिव्यक्ति दिएपछि परराष्ट्रले पुरानै कुरा दोहो¥याएको हो। ।



भारतीय सेनाध्यक्षको भनाइप्रति प्रतिक्रिया लिँदा प्रवक्ता लम्सालले भनिन्, ’नेपाल सरकारको निर्णय भनेको नै नवनिर्वाचित सरकारले नै गर्ने भन्ने हो । तत्काल यसबारे छलफल र वार्ता अघि बढ्दैन। उहाँहरूको कुरा उहाँहरूले राख्नुभयो होला उहाँहरूको देशको कुरा राख्न पाउने नै हुनुभयो । यसबारेमा यो गरौँ त्यो गरौँ भन्नुभन्दा पनि नवनिर्वाचित सरकारले नै सबै राजनीतिक दलहरूसँग कुरा गरेर यस विषयलाई अगाडि बढाउँदा नै उपयुक्त हुन्छ भन्ने हो ।’
भारतीय सेनाध्यक्षले एउटा कार्यक्रममा नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको कोटा अन्यलाई दिने बताएका थिए ।भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले सेनाध्यक्ष पाण्डेको भनाइ उद्धृत गर्दै लेखेको छ, ’मलाई लाग्छ नेपालले नोभेम्बर २० मा हुने आमनिर्वाचन अघि कुनै निर्णय गर्नेछैन। यो निर्णय लिने नलिने कुरा उहाँहरूकै हो ।’
नेपाल सरकारले यसअघि नै सैनिक भर्तीका विषयमा राजनीतिक दलहरूबीच छलफल गरेर मात्र आफ्नो राय दिने जानकारी भारतीय पक्षलाई दिइसकेको छ । भारतीय पक्षलाई केही समय पर्खिन भनिए पनि अहिलेको सरकारले यस विषयमा निर्णय नदिने परराष्ट्र स्रोतले जनाएको छ ।
नेपाल सरकारले आन्तरिक गृहकार्य गर्नुपर्ने भनेपछि भदौ ९ मा बुटवल र भदौ १६ मा धरानमा हुने भनिएको गोर्खा सैनिक भर्ती प्रक्रिया स्थगित गरिएको थियो ।



