भदौ २८ ,
नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सुले तिब्बती परिचय पत्र र नेपालबाट पास भएको एमसीसी परियोजनाको विषयमा जिज्ञासा राखेका छन्।
माओवादी केन्द्रका अध्यक्षसहित पदाधिकारीसँग मंगलबार संसद भवन नयाँ बानेश्वरमा भेट गर्दै चाङ्सुले २ विषयमा चासो राखेका हुन्।
‘तिब्बती परिचयपत्र र एमसीसीको विषयमा उहाँको चासो थियो,’ छलफलमा सहभागी एक नेताले भने, ‘यसबारेमा अध्यक्ष प्रचण्डले नेपालको भूगोलबाट चीनविरुद्धको कुनैपनि गतिविधि हुन नदिने प्रष्ट पार्नुभयो।’



एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध भएकोले चीनविरुद्ध कुनैपनि गतिविधि हुँदैन, चीनसँग सीमा जोडिएको क्षेत्र वरिपरिका भौगोलिक सीमाना, र भूगोलमा त्यसखालको गतिविधि हुन दिदैँन।’
प्रचण्डले एमसीसी पास गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा गरिएको र त्यो ऐनकै रुपमा रहेको प्रष्ट पारे।
‘हामीले १२ बुँदे व्याख्यात्मक घोषणा गरेर संसदबाट नेपालको हितमा हुनेगरी एमसीसी पास गरिएको हो, यसमा सबै दलहरूको समर्थन छ,’ प्रचण्डले भनाई उधृत गर्दै ती नेताले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धमा असर नगर्ने गरी पास गरिएको हो।’
द्विपक्षीय छलफलमा माओवादी अध्यक्ष प्रचण्डले नेपालको आर्थिक विकासका लागि मुख्य साझेदार राष्ट्र भएका नाताले सहयोग गर्न आग्रह गरेका थिए।
‘नेपालको रणनीतिक विकासमा चीनले साथ र सहयोग गर्ने विषय प्राथमिकतामा राखिदेओस् भन्ने हो,’ प्रचण्डले भने, ‘ठूला ठूला आयोजनामा लगानी होस्, साझेदारी गरेर जाओस् ।’
भौगोलिक विकासमा चीनले गरेको सहयोग राम्रो भएपनि केही योजनाहरु समयमै सम्पन्न नहुँदा त्यसले समस्या पारेको प्रचण्डले बताए।
‘भइराखेका योजना निर्माण सम्पन्न गर्न तदारुकता दिनुपर्छ, नेपाल चाइना पोर्ट (नाका) लामो समयदेखि अवरुद्ध छन्, यी दसैँ तिहार अघि नै खोल्ने वातावरण बनाउनु आग्रह गर्दछु,’ प्रचण्डले भने।
जवाफमा चाङ्सुले सीमा नाकाको अवरुद्ध खुलाउन चिन्तित रहेको बताउँदै दसैँ, तिहार अघि नै सहज रुपमा नाका खोल्ने वातावरण बनाउने प्रतिवद्धता जनाए।
त्यसबाहेक प्रचण्ड र चाङ्सुबीच ’पार्टी टू पार्टी सम्बन्ध’का बारेमा पनि छलफल भएको थियो।
तीन दिने भ्रमणका क्रममा सोमबार नेपाल आइपुगेको चाङ्सु सहितको टोलीमार्फत प्रचण्डले चिनियाँ २० औं राष्ट्रिय कंग्रेसको शुभकामना पनि दिए।



