भदौ २०
साझेदारी व्यवसायको करोड रुपैयाँ मुनाफा हडप्न दुई भारतीय नागरिकलाई लागूऔषध मुद्दामा फसाएको आरोप लागेका पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । अध्यक्ष गुप्ता र प्रहरीको मिलेमतोमा भारतीय नागरिक रामा गुप्ता र जितेन्द्र पासवानलाई लागूऔषध मुद्दामा फसाइएको थियो ।
गत असार २२ गते पक्राउ परेका ४० वर्षीय रामा र उनका सहयोगी जितेन्द्रसँग प्रहरीले दुई सय ७० सेट डाइजेपाम, नुर्फिन र फेनार्गन लागूऔषध बरामद भएको बताएको थियो । तर, अनुसन्धानको क्रममा गाउँपालिका अध्यक्ष गुप्ताकै योजनामा उनीहरुमाथि झुट्टा मुद्दा चलाइएको पुष्टि भएको स्रोतले बतायो । साथै उक्त घटनाको अनुसन्धानकै क्रममा पक्राउ परेका गाउँपालिका अध्यक्ष गुप्ताका सहयोगी पूर्व नगर प्रहरी रघुनाथ धोबीको बयान र अन्य प्रमाणका आधारमा उनको संलग्नता देखिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।



सबै प्रमाणले अध्यक्ष गुप्ताकै मिलेमतोमा निर्दोष भारतीयलाई फसाएको पुष्टि भएपछि उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरिएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ पुर्जी जारी पछि अध्यक्ष गुप्ता फरार छन् । उनको खोजी जारी रहेको प्रहरीले बताएको छ। । जिल्ला सरकारी वकिल कार्यालय स्रोत का अनुसार गुप्ता हाजिर नभए उनीविरुद्ध एक हप्तामै अदालतमा मुद्दा दायर गर्ने तयारी गरिएको छ ।
प्रहरी उच्च स्रोतका अनुसार छानबिनका क्रममा घटना विवरण नै बनावटी भएको र अहिले थुनामा रहेका दुई भारतीय नागरिक निर्दोष देखिएका छन् । निर्दोष देखिँदा समेत अझै उनीहरु थुनामुक्त भएका छैनन् । प्रहरीका अनुसार दुई महिनादेखि भारतीय नागरिक गुप्ता र पासवान प्रहरी हिरासतमा छन् ।
यसअघि गाउँपालिका अध्यक्ष गुप्तासँगको साझेदारीमा ती दुई भारतीयले कवाड व्यवसाय को काम गर्थे । उक्त व्यवसायको एक करोड ३३ लाख मुनाफा नदिने उद्देश्यले उनीहरुलाई अध्यक्ष गुप्ताले लागुऔषध मुद्दामा फसाएको अनुसन्धानले पुष्टि गरेको स्रोतको दावी छ । यसअघि अध्यक्ष गुप्तालाई कारबाही गर्न राजनीतिक दलहरु र आफन्तले माग गरेका थिए । निर्दोषलाई फसाएको भन्दै अध्यक्ष गुप्ताको चर्को आलोचना हुँदै आएको छ ।
गुप्ता र पासवानलाई फसाउन गाउँपालिका अध्यक्षको निर्देशनमा उनका सहयोगी गाउँपालिकाका नगर प्रहरी (पूर्वप्रहरी) रघुनाथ धोवीले असार २२ गते रामग्राम नगरपालिका–१७, पिपरहियामा चिया पसलभित्र बोलाएर आफैले ल्याएको लागुऔषध मोटरसाइकलमा राखिदिएर प्रहरीलाई बोलाएर पक्राउ गराएको रामा गुप्ताका साला सन्जय शाहले दावी गर्दै आएका छन् । अनुसन्धानका क्रममा यो कुरा पुष्टि समेत भएको स्रोतको दावी छ ।
गाउँपालिका अध्यक्ष गुप्तासँग रामाले १२ वर्षदेखि कवाड कारोबार गर्दै आएका थिए । पाउनुपर्ने रकम दिन आलटाल गरेपछि कवाड दिन छाडेको र उनले धम्की दिंदै आफूलाई नै बेच्न दवाव दिंदै आएका थिए ।



