अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षमा मनपरी, राष्ट्रिय सुरक्षामै चुनौती

२०७९ भाद्र २०, सोमबार
पढ्ने समय : 3 मिनेट

भदौ २०

भिआइपी कक्ष को–को ले प्रयोग गर्न पाउनेबारे पर्यटन मन्त्रालयले राजपत्रमा सूचना नै निकालेको छ । तर पहुँच र शक्तिको आडमा मापदण्डमा नपर्नेले समेत भिआइपी कक्ष प्रयोग गरिरहेका छन् ।

भिआइपी कक्षबाट भागेका रिजवान आलमलाई मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मेरियट होटेल पु¥याएका थिए । आफ्नै गाडीमा राखेर उनले होटेल पु¥याएको प्रहरीको सिसिटिभी फुटेजमा देखिन्छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राति मेरियट होटेलको लबीबाट रिजवानलाई पक्राउ गरेको छ । पक्राउ पर्दा उनी अन्सारीसँगै थिए ।
अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले भिआइपी कक्ष दुरुपयोग गरी फरार अभियुक्त भगाइएको घटनाबारे छानबिन गर्न टोली गठन गरेको छ । निर्देशक टेकनाथ सिटौलाको नेतृत्वमा शनिबार पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा नागरिक उड्डयनबाट बच्चुराम श्रेष्ठ र विद्या ढुंगाना, नेपाल प्रहरीका डिएसपी सूर्य सुवेदी र राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृत छन् । आगामी दिनमा भिआइपी कक्षको दुरुपयोग हुन नदिन सुधारका सुझाव पेस गर्ने गरी समिति गठन भएको निर्देशक सिटौलाले बताए ।

विदेशबाट आउँदा भिआइपी कक्ष नै प्रयोग गरेर ठगी मुद्दाका फरार अभियुक्त भागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणालीमा गम्भीर प्रश्न उठेको छ । ‘उनको ठाउँमा कोही आतंकवादमा संलग्न व्यक्तिले त्यसरी भिआइपी कक्ष दुरुपयोग गरेको भए कस्तो जोखिम हुन्थ्यो ?’ सुरक्षा अधिकारीहरूकै प्रश्न छ ।

दुबईबाट शुक्रबार आएका फरार अभियुक्त सुनसरीका रिजवान आलमलाई नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भिआइपी कक्षमा लगेका थिए । रिजवानलाई भिआइपी कक्ष प्रयोग गर्न दिने भनेर कतै निर्णय भएको थिएन । अन्सारीकै योजना अनुसार मुस्लिम आयोगको निम्तोमा युनाइटेड अरब इमिरेट्सबाट आएका अरब संसद्का उपाध्यक्ष लगायतको टोलीसँगै उनलाई मिसाएर भिआइपी कक्षमा लगिएको थियो ।

अध्यागमनले रिजवानको पासपोर्ट जाँच गर्दा कालोसूचीमा रहेको पत्ता लगाएपछि अध्यक्ष अन्सारीले भिआइपी कक्ष अगाडिबाट उनलाई गाडीमा राखी मेरियट होटेल पु¥याएका थिए । जब कि अराइभलका लागि अध्यागमनले उनलाई अनुमति नै दिएको थिएन । पासपोर्ट अध्यागमनमै छाडेर रिजवानलाई भगाइएको थियो । विमानस्थलबाट भागेको करिब १२ घन्टापछि शुक्रबार राति नै प्रहरीले उनलाई मेरियट होटेलबाट पक्राउ गरेको थियो ।

यो घटनाले अन्तर्राष्ट्रिय विमानस्थलभित्रका दुईवटा गम्भीर त्रुटि औँल्याएको छ । एकातर्फ कुनै निकायको निर्णयविना नै भिआइपी कक्ष प्रयोग गरे, त्यो पनि फरार अभियुक्तले । विमानस्थलको एप्रोन क्षेत्रबाट रिजवान सीधै भिआइपी कक्षमा पुग्दासम्म कुनै जाँच भएन । अर्काे, विनापासपोर्ट उनी भिआइपी कक्षबाट भागे । कालोसूचीमा रहेको खुलेपछि अध्यागमनले उनको पासपोर्ट राखेको थियो । पासपोर्टमा अराइभलको छाप नलगाई रिजवान विमानस्थलबाट सहजै भाग्न सफल भए, त्यो पनि भिआइपीको संरक्षणमा ।

भिआइपी कक्षमा अराइभल छापको जाँच गर्ने सिस्टम नै विमानस्थलमा बन्न सकेको छैन । विमानस्थलका प्रहरी प्रमुख डिआइजी श्यामलाल ज्ञवालीले भिआइपी कक्षमा पासपोर्ट जाँच गर्ने अधिकार प्रहरीलाई नभएको बताए । भिआइपी कक्षको सुरक्षाको जिम्मेवारी मात्र आफूहरूको भएको उनको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष क–कसले प्रयोग गर्न पाउने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राजपत्रमा सूचना नै निकालेर प्रस्ट पारेको छ । तर, भिआइपीको मापदण्डमा नपर्ने धेरैले पहुँच र शक्तिका आडमा भिआइपी कक्ष प्रयोग गर्दै आएका छन् ।

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले शक्तिको आडमा दबाब दिएर कतिपयले भिआइपी कक्ष प्रयोग गर्दै आएको स्वीकार गरे । खासगरी विभिन्न दलका नेताहरूले भिआइपी कक्ष प्रयोग गर्न दबाब दिने गरेको उनको भनाइ छ । भिआइपीमा आफन्त तथा परिवारले पनि भिआइपी कक्षको दुरुपयोग गर्ने क्रम बढ्दा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा चुनौती बढ्दै गएको छ । यसलाई नियन्त्रण गर्न नसके कुनै दिन पेसेवर अपराधीले यसको दुरुपयोग गर्ने जोखिम रहेको विमानस्थल स्थित एक प्रहरी अधिकारीले बताए ।

अध्यागमनले कालोसूचीमा रहेका व्यक्ति उपस्थित गराइदिन भन्दाभन्दै भगाइएपछि प्रहरीले रिजवानको खोजी ग¥यो । त्यस क्रममा प्रहरीले अध्यक्ष अन्सारीलाई फोन नै गरेर रिजवानलाई बुझाइदिन आग्रह गरेको थियो, तर अन्सारीले प्रहरीलाई सहयोग गरेनन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शुक्रबार बेलुका मेरियट होटेलको लबीबाट रिजवानलाई पक्राउ ग¥यो । पक्राउ पर्दा उनी अध्यक्ष अन्सारीसँगै थिए । अनधिकृत रूपमा प्रवेश गरेकोमा रिजवानलाई कारबाही गरी अदालतमा बुझाउने प्रहरीको तयारी छ । उनीविरुद्धको एक करोड ६८ लाख ठगीको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । दाउन हुसेनका छोरालाई दुबईमा पाइलट पढाइदिने भन्दै उनले पैसा लिएर ठगी गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

भिआइपी कक्ष दुरुपयोग गरेको र अभियुक्तलाई भगाउन प्रयास गरेकाले मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि समेत मुद्दा चल्न सक्ने एक प्रहरी अधिकारीले बताए । अन्सारीले भने अध्यागमनमा ढिलाइ भएपछि होटेलमा गएर आराम गर्ने गरी रिजवानलाई लिएर गएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय