साउन २३
राज्यको अर्थतन्त्रमा असर पार्न सक्ने चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) खारेज गर्नुपर्ने भन्दै आवाज उठेको छ ।



राष्ट्रिय एकता अभियानद्वारा आयोजित बीआरआई विकास परियोजना को चिनियाँ विस्तारवाद विषयक विचार गोष्ठिमा कार्यक्रमकी प्रमुख अतिथि तथा मधेसी आयोगकी सदस्य रेणु देवीले नेपालमा चिनियाँ विस्तारवाद बन्द गर्नुपर्नेमा जोड दिएकी छन् ।
उनले भनिन्, ‘नेपालमा चिनियाँ विस्तारवाद रोक्नको लागि बीआरआई परियोजना खारेज गर्नुपर्छ ।, चिनियाँ ऋणका कारण अरु देशले पाइरहेको दुःखबाट हामीले पाठ सिक्नुपर्छ ।, त्यसैले बीआरआई परियोजना खारेज गर्नुपर्छ।’
त्यस्तै कार्यक्रमको अध्यक्षता गरेका अभियानका अध्यक्ष विनय यादवले बीआरआई परियोजना खारेज नभए नेपालमा चिनियाँ विस्तारवाद बढ्ने सम्भावना उच्च रहेको बताए । उनले भने, ‘चीनले बीआरआई परियोजनाको नाममा नेपाललाई ऋणमा डुबाउने योजना बनाइरहेको छ।’
उनले यसका कतिपय बुँदाहरु निकै शंकास्पद, अस्पष्ट र जानाजान वा अन्जानमा धेरै अर्थ लाग्ने किसिमको बनाइएको बताए । कार्यक्रममा सहभागी अभियानकी केन्द्रीय उपाध्यक्ष सुनीता साह, केन्द्रीय सदस्य चन्द्र यादव, राजेश यादव, हिन्दू सम्राट, अधिवक्ता किरण पौड़ेल, जसपाका मधेश प्रदेश इञ्चार्ज कमल यादव, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य बिनोद गुरुंग लगायतले राष्ट्रघाती बीआरआई समझौता खारेजी हुनु पर्नेमा जोड़ दिए।
‘बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) चीन सरकारले प्रस्तुत गरेको अत्यन्त महत्वाकांक्षी विकास रणनीति हो। सन् २०१३ को सेप्टेम्बरमा कजाकास्तान स्थित नाजार्बाएव विश्वविद्यालयमा सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘सिल्क रोड इकोनोमिक बेल्ट’ निर्माण गर्ने प्रस्ताव गरेका थिए। त्यसको एक महिनापछि इन्डोनेसिया भ्रमणमा राष्ट्रपति सीले ‘ट्वेन्टी फस्र्ट सेन्चुरी म्यारिटाइमी सिल्क रोड’ निर्माणको प्रस्ताव गरे। पछि यी दुवैलाई मिसाएर चिनियाँ राज्य परिषद्को योजनामा ‘वान बेल्ट वान रोड’ का रूपमा प्रस्तुत गरियो। अहिले यसलाई ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ भन्न थालिएको छ।
बीआरआईमा उल्लिखित ‘रोड’ ले समुद्री मार्गलाई जनाउँछ भने ‘बेल्ट’ ले स्थलमार्गलाई जनाउँछ। बेल्टले चीनको पश्चिमी भागलाई मध्य एसिया, रूस, युरोप, भूमध्य सागर, अरब सागर, दक्षिणपूर्वी एसिया, दक्षिण एसिया र हिन्द महासागरसँग जोड्छ। त्यसैगरी ‘रोड’ ले समुद्री मार्गद्वारा चीनलाई युरोप र अफ्रिकासँग जोड्छ। बीआरआई परियोजनाले ६५ देश, ४.४ अर्ब जनसंख्या र संसारको कुल गार्हस्थ्य उत्पादनको एकतिहाइ हिस्सा ओगट्छ।
दोस्रो विश्वयुद्धपछि युरोप पुननिर्माण गर्न अमेरिकाले बनाएको मार्सल योजनाभन्दा यो कैयौं गुणा ठूलो परियोजना हो। यसमा हालसम्म सयौं योजनामा करिब एक ट्रिलियन डलर लगानी निश्चित भइसकेको छ। केही समयअघिसम्म सोच्नसमेत नसक्ने रेल र सडक मार्ग निर्माण भइरहेका छन्।
बीआरआईको धेरैजसो लगानी चाइना डेभेलपमेन्ट ब्यांक, एक्सपोर्ट–इम्पोर्ट ब्यांक, सिल्क रोड फन्ड, एसियन इन्फ्रास्ट्रक्चर ब्यांकजस्ता चिनियाँ कोषबाट आउनेछन्। हालसम्म झन्डै पाँच दर्जन चिनियाँ कम्पनीले बीआरआईका करिब एक हजार आठ सय परियोजनामा लगानी गरिसकेका छन्। अधिकांश परियोजनामा चीनले सम्बन्धित देशसँग द्विपक्षीय सम्झौता गर्ने गरेको छ।
बीआरआईले विश्वमा उत्साह र आशंका दुवै पैदा गरेको छ। कतिपय साना देश ऋण को पासोमा पर्ने जोखिमसमेत रहेको बताइन्छ। पश्चिमा शक्ति र तिनको नेतृत्वमा रहेको विश्व तथा क्षेत्रीय व्यवस्थालाई विस्थापित गर्ने योजना ठानेर पश्चिमा राष्ट्रहरू चीनसँग सशंकित बनेका छन्। यद्यपि तिनले चिनियाँ लगानीलाई अस्वीकार गर्ने आँट देखाएका छैनन्।



