नेपाल–भारत सुरक्षा समितिको बैठक ः सीमास्तम्भ मर्मत र स्थापनाका लागि संयुक्त अनुगमन समिति बनाएर काम थालिने

२०७९ श्रावण २२, आईतवार
पढ्ने समय : < 1 मिनेट

साउन २२

नेपाल र भारतका सुरक्षाकर्मीहरुको त्रैमासिक संयुक्त बैठकमा सीमा क्षेत्रका बारेमा व्यापक छलफल भएको छ । लामो समयदेखि नेपाली सीमा अतिक्रमण भएको तथा पुल निर्माणमा भारतीय सुरक्षाकर्मीको तर्फबाट पुल निर्माणमा अवरोध भइरहेको गुनासो आउन थालेपछि मधेश प्रदेशसँग जोडिएर रहेको नेपाल–भारत सीमाक्षेत्र तर्फ सीमास्तम्भ खोजी तथा जीर्ण रहेकोलाई मर्मत सम्भार गरिने भएको हो ।
शनिबार जनकपुरधाममा नेपाल–भारत सीमाक्षेत्रको सुरक्षा सम्बन्धी सम्पन्न भएको बैठकबाट सीमाक्षेत्रबाट हराएको सीमास्तम्भ खोजी गर्ने, पुरानो तथा जीर्ण सीमास्तम्भ मर्मतसम्भारका लागि संयूक्त टोली मार्फत सम्बन्धित निकायलाई जानकारी गराउने, सीमाक्षेत्रमा हुने गरेका अपराधलाई पूर्णरुप मा नियन्त्रण गर्ने, लागुऔषध ओसारपसारको निगरानी तथा नियन्त्रण गर्ने र चेलीबेटी बेचबिखन नियन्त्रण तथा मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको सम्बन्धमा छलफल भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले अहिले वर्षाका कारण बाढीको जोखिम रहेकाले यस समयमा सीमाक्षेत्र अवस्थित नदीमा आउने बाढीले हुने क्षतिलाई मध्यनजर गर्दै धनजनको क्षती, नदी कटान तथा सीमाक्षेत्र अवस्थित सीमास्तम्भको समेत अनगुमन गर्ने निर्णय भएको बताए । उनले भने, ‘कतिपय सीमास्तम्भहरू पुराना तथा जीर्ण भएकाले तत्काल मर्मत सम्भार गर्नुपर्ने आवश्यकता रहेको र कतिपयस्थानमा सीमास्तम्भ हराएको भनि आएको जानकारी अनुसार पनि सीमाक्षेत्रमा रहेको सीमास्तम्भका लागि अनुगमन गर्ने र सीमास्तम्भ रहेको स्थानमा सीमास्तम्भ गाड्नका लागि पनि दुवै देशको तर्फबाट संयूक्त अनुगमन समिति मार्फत सम्बन्धित जिल्लालाई जानकारी गराउने निर्णय भएको हो ।’
बैठकको नेपाली पक्षको नेतृत्व धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गरेका थिए भने भारतीय पक्षको नेतृत्व मधुबनीका डी एम अरविन्द कुमार बर्माले गरेका थिए ।

मधेश प्रदेशका चार वटा जिल्लाहरुका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख तथा भारतको तर्फबाट मधुवनी जिल्लालगायतका जिल्ला प्रमुख र भारतीय सुरक्षाकर्मीहरुको प्रतिनिधिहरूका समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय