बीआरआईले नेपाल पनि श्रीलंका बन्ने विज्ञको चेतावनी

२०७९ श्रावण १७, मंगलवार
पढ्ने समय : 2 मिनेट

साउन १७
– श्रीलंकाको अवस्था आँखै अगाडि हेरिरहँदा नेपालमा पनि बीआरआई सम्झौता कार्यान्वयन गरेमा नेपाल गहिरो आर्थिक संकटमा फस्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । चिनियाँ ऋणले नै श्रीलंका आर्थिक रुपमा टाट पल्टेको भन्दै विज्ञहरूले अब आँखा चिम्लेर बीआरआईका विषयमा कुरा अगाडि बढाउनु हानिकारक हुने पनि उनीहरुको चेतावनी छ ।

आइएसएसआर ले खबरहब मा आयोजना गरेको ‘नेपालमा विदेशी ऋण, अवसर र चुनौती तथा श्रीलंका संकट दोहोरिन नदिन के गर्ने ?’ विषयक कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बीआरआई परियोजनाका विषयमा गम्भीर भएर सोच्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्। अर्थशास्त्री तथा विश्लेषक अरुणकुमार सुवेदी अहिले अध्ययनकै क्रममा रहेको बीआरआईका विषयमा गम्भीर हुनुपर्ने बताउँछन् । ‘बीआरआई अहिले अध्ययनकै क्रममा छ । त्यति धेरै आत्तिनु पर्दैन’ उनले भने, ‘तर अब श्रीलंका मा संकट देखिसकेपछि गम्भीर भएर सोच्न आवश्यक छ । बीआरआई सम्झौता गर्दा भोलि श्रीलंका नहोला भन्न सकिन्न ।’

यस्तै श्रीलंकाका लागि पूर्व नेपाली राजदूत समेत रहेका अर्थशास्त्री तथा विश्लेषक विश्वम्भर प्याकु¥याल बीआरआई सम्झौता भएपछि चिनियाँ ऋणका कारण धेरै देशको आर्थिक अवस्था नाजुक बनेको बताउँछन् ।

‘चिनियाँ ऋणले गर्दा श्रीलंका, पाकिस्तान, इथियोपिया लगायत देशको अवस्था नाजुक बनेको छ । बीआरआईबाट पीडित यस्ता धेरै देशको सूचि मसँग छ’ उनले कार्यक्रममा भने, ‘म आफैँ श्रीलंकाको राजदूत भइसकेका कारण पनि महँगो ब्याजदरमा चिनियाँ ऋण नेपालका लागि फाइदा कम, घाटा बढी छ । यस्तै अवस्थाले बीआरआई सम्झौता गरेर नेपाल पनि श्रीलंका बन्न सक्छ ।’

श्रीलंका, पाकिस्तान लगायत देशको आर्थिक अवस्थाका कारण नेपाल समयमै सचेत हुनुपर्ने विज्ञहरूको भनाई छ ।

यस्तै लेखक तथा विश्लेषक देवेश झाले नेपाल पटक पटक श्रीलंका बन्छ कि भनेर चिन्ता बढेको भन्दै त्यसो नहुने बताए । श्रीलंकाबाट नेपालले सुन आयात गरिरहेको बताउँदै उनले श्रीलंका आफैँ टाट पल्टिएको नभई विदेशी ऋणबाट भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।
यस्तै अर्थशास्त्री गोविन्द नेपाल विकसित देशले दिने हरेक अनुदान र ऋणका विषयमा गम्भीर राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने बताउँछन् ।

यस्तै व्यवसायी प्रकाश दुलालले पनि विदेशीले दिने ऋणभन्दा नेपाल आफैले उत्पादन गर्न सक्ने विषयका बारेमा गम्भीर हुनुपर्ने बताए । नेपाल श्रीलंका बन्नेभन्दा पनि नेपाललाई नेपाल रहन दिनका लागि गर्नुपर्ने कामका विषयमा सबै एकजुट हुनुपर्ने उनको धारणा छ ।
यस्तै विश्लेषक सरोज मिश्रले चीनले दिने ऋण वा बीआरआई परियोजनाका विषयमा थप गम्भीर भएर कदम चाल्नुपर्ने बताए । अहिलेकै अवस्थामा महँगो ब्याजदरमा बीआरआई स्वीकार गरेमा यसले भोलिका दिनमा देशलाई पर्ने असर गम्भीर हुन सक्नेतर्फ उनले सरकारको ध्यानाकर्षण पनि गराए ।

पछिल्लो समय श्रीलंका संकटमा चासो बढेपछि नेपालमा पनि वैदेशिक ऋण लिँदा ध्यान दिनुपर्ने आवाज बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय