चैत्र २८
नेपाल र भारतका भन्सार अधिकारीहरूबीच काठमाडौंमा दुईदिने उच्चस्तरीय बैठक सुरु भएको छ। बैठकले दुई देशबीचको वैदेशिक व्यापारलाई सहज बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रही महत्वपूर्ण विषयहरूमा गहन छलफल गरिरहेको छ।
भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीका अनुसार बैठकमा विशेषगरी निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाको अग्रिम आदान–प्रदान, विद्युतीय कार्गो ट्र्याकिङ प्रणालीको कार्यान्वयन, तथा सीमा नाकामा गुणस्तर र क्वारेन्टाइन परीक्षण प्रणालीलाई मजबुत बनाउने विषयमा छलफल भइरहेको छ। उनले भने, “तेस्रो मुलुकबाट भारत हुँदै नेपाल आउने वा नेपालबाट तेस्रो मुलुकतर्फ जाने मालवाहक कन्टेनरलाई ट्र्याक गर्न विद्युतीय प्रणालीको प्रयोग गर्ने प्रस्ताव महत्वपूर्ण छ।”
नेपालले भर्खरै कार्यान्वयनमा ल्याएको ‘राष्ट्रिय एकद्वार प्रणाली’ अन्तर्गत विद्युतीय रुपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने विषय पनि बैठकको एजेन्डामा रहेको छ। साथै, भैरहवा र चाँदनी–दोधारामा निर्माणाधीन एकीकृत जाँच बिन्दुहरू तोकिएको समयमै सम्पन्न गर्नुपर्ने माग पनि नेपाल पक्षले अघि सारेको छ।
बैठकमा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक महेश भट्टराई नेतृत्वमा अर्थ, परराष्ट्र, उद्योग, खाद्य प्रविधि तथा गुण नियन्त्रण, पशु तथा वाली क्वारेन्टाइनजस्ता प्रमुख मन्त्रालय तथा विभागका अधिकारीहरूको उपस्थिति छ। भारतको तर्फबाट राजस्व ईन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभय कुमार श्रीवास्तवको नेतृत्वमा भारतीय दूतावास, लखनउ, पटना, र कलकत्ताका भन्सार प्रमुखहरू सहभागी छन्।
बैठक चैत २८ र २९ गतेसम्म जारी रहनेछ। दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप प्राविधिक र प्रभावकारी बनाउन यो बैठक एक महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।






