चैत १३,
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
भारतको राजधानी नयाँ दिल्लीमा बुधबार भएको नेपाल भारत ऊर्जा सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले नेपाल सरकारले हालै मात्र सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन पु¥याउने महत्त्वाकांक्षी लक्ष्य लिएको र त्यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेकोले अहिले नेपालमा लगानीको सुनौलो अवसर रहेको बताएका हुन्।
उनले २०५७ देखि मात्र विद्युत् उत्पादन सुरु गरेको नेपाली निजी क्षेत्रले अहिले कुल जडित क्षमता ३५०० मेगावाट पुग्दा यसको ८० प्रतिशत (करिब २८०० मेगावाट) हिस्सा ओगटेको पनि जानकारी गराए।
नेपाल र भारतबीच हाल १००० मेगावाट विद्युत आदानप्रदान भइरहेकोमा आगामी १० वर्षभित्र त्यसलाई बढाएर १० हजार मेगावाट पु¥याउने विषयमा दीर्घकालीन सम्झौता भइसकेको, भारतीय कम्पनीको लगानीमा नेपालमा ५ हजार मेगावाट बराबरका आयोजना अघि बढिरहेको र थप हजारौँ मेगावाट बराबरका आयोजनाले भारतीय लगानी पर्खिरहेको कार्कीले बताए।
नेपाल लगानी बोर्डद्वारा गरिएको प्रारम्भिक अध्ययनअनुसार, नेपालको सौर्य ऊर्जा उत्पादन क्षमता ४.३२ गिगावाटभन्दा बढी रहेकोले सौर्य ऊर्जामा पनि नेपाल भारतीय लगानीकर्ताहरूको लागि आकर्षक गन्तव्य हुन सक्ने कार्कीले बताए।
नेपाल अडानी समूह, टाटा पावर, जिन्दल पावर, जीएमआर समूह, एसजेभीएन लिमिटेड, एनएचपीसी जस्ता प्रमुख भारतीय व्यापारिक घरानाहरूसँग साझेदारी गर्न इच्छुक रहेको पनि उनले जानकारी गराएका थिए ।



नेपालको प्रचुर जलविद्युत उत्पादन सम्भावनालाई वास्तविकतामा परिणत गर्दै नेपाललाई क्षेत्रीय बजारमा बढीरहेको ऊर्जाको मागलाई परिपूर्ति गर्ने मुलुकको रुपमा विकास गर्न सकिने कार्कीको भनाइ थियो।
इप्पान उपाध्यक्ष आनन्द चौधरीले प्रस्तुतीकरण दिँदै नेपालमा ३५०० मेगावाट विद्युत उत्पादन भइरहेकोमा ४ हजार मेगावाट बराबरका आयोजना निर्माणाधिन रहेको, ४१०० मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद विक्री सम्झौता (पीपीए) गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको र करिब २० हजार मेगावाट क्षमताका आयोजना अध्ययनको विभिन्न चरणमा रहेकोले आकर्षक आयोजना छानेर लगानी गर्न सक्ने अवसर भारतीय लगानीकर्तामाझ रहेको बताए ।
उनले निजी तथा सरकारी स्वामित्वमा रहेका नेपालका ठूला र आकर्षक ३ दर्जन जलविद्युत आयोजनाहरुको वारेमा भारतीय लगानीकर्तालाई संक्षिप्त जानकारी पनि गराए।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव चिरञ्जिवी चटौतले सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट विद्युत उत्पादन लक्ष्य प्राप्तिका लागि मन्त्रालयले धेरै कुरामा सहजीकरण गर्ने हुँदा ढुक्कसँग नेपालमा लगानी गर्न आग्रह गरे।
अहिले विद्युत उत्पादनका लागि उपयुक्त नीति रहेको, नेपाल र भारतबीच ४०० केभीको एउटा प्रसारणलाइन सञ्चालनमा रहेको र थप २ वटा लाइन निर्माणाधिन रहेकोले विद्युत उत्पादन र आदान प्रदानका लागि पर्याप्त पूर्वाधार तयार रहेको उनले बताए ।
नेपालको जलविद्युत नीति लगानीकर्ताहरुको संरक्षणका लागि उपयुक्त र उत्कृष्ट रहेकोले नेपालमा लगानीका लागि सबै ठूला भारतीय लगानीकर्ताहरुलाई चटौतले आग्रह गरे।



