सडक निर्माणमा सहयोग गर्न भट्टराईले गरे चीनलाई आग्रह

२०८१ फाल्गुन २३, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

फागुन २३
एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङ जिल्ला सदरमुकामदेखि तिब्बतको सिमाना टिपटलासम्मको ८५ किमी सडक निर्माणमा सहयोग गर्न परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई आग्रह गरेका छन् ।
आज उनले परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालाई भेटेर सो ८५ किलोमिटर सडक बिस्तार, कालोपत्रे र पुलहरूको निर्माणका लागि नेपाल सरकारका तर्फÞबाट चिनिया सरकारसँग औपचारिक छलफलको प्रक्रिया अघि बढाउन परराष्ट्र मन्त्री राणालाई आग्रह गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट प्राप्त सिफारिस र लागत अनुमानको प्रारम्भिक प्रस्ताव पनि परराष्ट्र मन्त्री राणालाई उनले बुझाएका छन् । सो सडक निर्माणका लागि करिब ७५ अर्ब रुपियाँ नेपाली खर्च अनुमान रहेको उनले बताए ।
चीन सरकार पनि यसमा सकारात्मक रहेकाले नेपालको तर्फबाट औपचारिक रूपमा प्रस्ताव लैजानुपर्ने सचिव भट्टराईले बताए । सीमा क्षेत्रमा दुई देशका बिच हुने छलफलमा चीनका अधिकारीहरूले यो सडक बनाउन नेपाल सरकारबाट चीनलाई सरकारलाई अनुरोध आयो भने सहयोग हुने सुझाव दिएका थिए । सोही सुझाव अनुसार यो प्रक्रिया परराष्ट्र मन्त्रालयमार्फत अगाडि बढाएको उनले बताए।
परराष्ट्रमन्त्री राणाले सडक निर्माणका लागि चीन सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको उनले बताए। ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय