नेपाल अब अप्ठ्यारो मोडमा, चीनसँगको निकटता महँगो पर्न सक्छ – सुन्दरमणि

२०८१ फाल्गुन ९, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

फागुन ९
नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गम्भीर आरोप लगाएका छन्। उनले ओली प्रधानमन्त्री बनेदेखि नै नेपाल चीनतर्फ ढल्किएको र त्यसकै कारण चीनको प्रभाव नेपालमा हावी हुँदै गएको दाबी गरे।

शुक्रबार नेपाली रेडियो नेटवर्कबाट प्रसारित नेपाली बहस कार्यक्रममा उनले नेपाल चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआर आई) मा सहभागी भएपछि भारत र अमेरिकाले नेपाललाई चीनपक्षीय राष्ट्रका रूपमा हेर्न थालेको टिप्पणी गरे। उनले भने, “नेपाल अब पूर्ण रूपमा चीनतिर ढल्किएको छ। यसले भारत र अमेरिकासँगको सम्बन्धमा अप्ठ्यारो परिस्थिति ल्याउनेछ।“

दीक्षितका अनुसार ओलीले भारतलाई असन्तुष्ट पार्दै चुनाव जितेका थिए, र त्यसपछि नेपालमा चिनियाँ प्रभाव तीव्र रूपमा बढेको छ। “ओलीले भारतलाई लात हानेर चुनाव जिते, त्यसपछि उनी चीनतर्फ यति ढल्किए कि नेपालमा चिनियाँहरूको बोलवाला बढ्न थाल्यो,“ उनले कटाक्ष गरे।

उनले वर्तमान विश्व राजनीतिक परिप्रेक्ष्यमा चीनसँग भारत र अमेरिकाको सम्बन्ध सुमधुर नभएको उल्लेख गर्दै नेपालमाथि पनि त्यसको प्रभाव परेको बताए। “अहिले अमेरिका र चीन मित्र छैनन्, भारत र चीनको सम्बन्ध पनि तनावग्रस्त छ। यस्तो अवस्थामा, ओली र प्रचण्डले नेपाललाई चीनको पोल्टामा हालिदिएपछि भारत र अमेरिकाले एउटै दृष्टिले नेपाललाई हेर्न थालेका छन्,“ उनले बताए।

उनका अनुसार नेपालमा कम्युनिष्ट सरकार बनेपछि चीनले आफ्नो प्रभाव विस्तार गर्न सहज महसुस गर्यो, जसले भारत र अमेरिकासँगको सम्बन्धलाई थप जटिल बनाएको छ। “नेपालले चिनियाँहरूलाई देशमा बलियो उपस्थित हुन दियो, र त्यसकै कारण अमेरिकालाई समेत चिढ्यायो,“ दीक्षितले थपे।
डा. दीक्षितले नेपालले असन्तुलित विदेश नीति लिँदा अब देशलाई अप्ठ्यारो पर्ने चेतावनी दिए। उनले वर्तमान सत्तालाई सचेत रहन आग्रह गर्दै भने, “नेपाललाई अब आफ्नो परराष्ट्र नीति सच्याउनु आवश्यक छ, अन्यथा अन्तर्राष्ट्रिय सम्बन्धमा थप समस्याहरू निम्तिन सक्छन्।“

उनको यो अभिव्यक्तिले नेपालमा बढ्दो चिनियाँ प्रभाव, भारत–अमेरिकासँगको कूटनीतिक सन्तुलन, र कम्युनिष्ट नेतृत्वको भूराजनीतिक झुकावबारे नयाँ बहस जन्माएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय