भैरहवा मंसिर २९
भैरहवाको लुम्बिनी खुकुरी क्लबको अध्यक्षमा महेश थापा निर्विरोध निर्वाचित भएका छन् । शनिबार क्लबको वार्षिक साधारण तथा ८ औ अधिवेशनले अध्यक्षमा थापालाई निर्विरोध निर्वाचित गरेको हो ।
त्यस्तै क्लबको उपाध्यक्षमा धिरेन्द्र केसी, सचिवमा ओजस शर्मा, कोषाध्यक्षमा उमेश पोखरेल, सहसचिव नन्दन श्रेष्ठ, सदस्यहरु अशोक क्षेत्री, अन्तिम थापा, सुनील यादव, राजु बस्नेत र सिजन थापा पनि निर्विरोध निर्वाचित भएको क्लबले जनाएको छ ।



कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिका मेयर इश्तियाक अहमद खाँले लामो ईतिहास बोकेको संस्थालाई निरन्तर रुपमा अघि बढाउनु आजको आवश्यकता रहेको बताए ।
‘क्लबले खेलाडी उत्पादन देखि सामाजिक कार्यमा धेरै सक्रियता देखाएको छ’, उनले भने, ‘समाजमा अझै सकरात्मक असर पर्ने खालका काममा मेरो पनि निरन्तर सहकार्य रहनेछ ।’
नवनिर्वाचित अध्यक्ष महेश थापाले क्लबको गरिमालाई उच्च राख्ने गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै नयाँ कार्ययोजनाका साथ आफुहरु अघि बढ्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष लुम्बिनी खुकुरी क्लबका अध्यक्ष रामु बस्नेतले खुकुरी क्लबको गरीमा बढाउन आगामी नेतृत्वलाई राम्रो काम गर्न आग्रह गरे । संस्थापक अध्यक्ष दिपक शर्माले ०२७ सालमा थोरै जमातबाट स्थापना भएको संस्था हाल राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादनमा भूमिका खेल्दै आएको बताए ।
कार्यक्रममा क्लबका पूर्वअध्यक्ष, निजी क्षेत्रका प्रतिनिधि, सामाजिक, राजनैतिक, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कार्यकाल सफल बनाउन भूमिका खेल्ने र अग्रजहरुलाई मायाको चिनो तथा प्रमाण पत्र वितरण गरीएको थियो ।



