कार्तिक १२
नेपालमै पहिलो पटक सौर्य उर्जाबाट चल्ने सामुदायिक स्नानघर सञ्चालनमा आएको छ। । ललितपुर महानगरपालिका वडा नम्बर–३ स्थित ठाडोढुंगामा ’युनिक सोलार सावर स्टेशन’ प्रयोगमा ल्याइएको हो ।
चीनको युन्नान कमर्सियल रिप्रिजेन्टटेटिभ अफिसमार्फत आर्थिक र युनिक सोलार नेपालको प्राविधिक सहयोगमा निर्माण भएको उक्त सामुदायिक बाथरुममा २४ घण्टा तातो पानीको सुविधा छ । सर्वसाधारणले आफ्नो समय अनुकूल त्यहाँ पुगेर नुहाउन सक्नेछन् ।



अहिले प्रतिव्यक्ति शुल्क रु. ८० कायम गरिएको छ । १० पटकसम्म सेवा लिएमा एकचोटी निःशुल्क दिइने छ ।
त्यस्तै,मासिक,अर्धवार्षिक तथा वार्षिक ग्राहक बनेर पनि सहुलियत दरमा सुविधा लिन पाइनेछ । त्यसका लागि क्रमशः दुई हजार, पाँच हजार र आठ हजार शुल्क तोकिएको छ।
सर्वसाधारणले स्टेशनमै साबुन, स्याम्पु,टावेल तथा टुथ ब्रश पाउनेछन् भने चिया,कफी तथा जुसको पनि व्यवस्था गरिएको छ ।
वडाध्यक्ष गोपाल महर्जनको अध्यक्षतामा सम्पन्न भएको सामुदायिक बाथरुम शुभारम्भ तथा हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन,नेपालका लागि चिनियाँ राजदूत छन् सोङ लगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै मेयर महर्जनले सोलार बाथरुम स्टेशनले महानगरवासीमा उत्साह ल्याएको बताएका छन । यसले महानगरको समृद्धि र विकासमा ठूलो सहयोग पुर्याउने उनको विश्वास छ ।
, मेयरले भने ‘यो सुविधा र प्रविधियुक्त बाथरुम स्टेशनले महानगरको समृद्धि,विकास र सरसफाईमा ठूलो सहयोग गरेको छ,।’ मेयर महर्जनले यो सहयोगले नपाल र चीनबीचको सम्बन्धलाई प्रगाढ बनाएको पनि बताएका छन ।
राजदूत छन सोङले पनि नेपालसँगको पुरानो मित्रता स्मरण गर्दै सहयोग गर्न पाउँदा खुशी लागेको बताएका छन । स–साना सहयोग र आपसी समझदारीकै कारण नेपाल र चीन पौराणिक कालदेखि दाजुभाइजस्तो रहेको राजदुतको भनाई छ ।
त्यस्तै, युन्नान प्रतिनिधि याङले छिमेकी राष्ट्रहरुमा समृद्ध ग्रामीण परियोजना अन्तर्गत उक्त सोलार बाथरुम निर्माण गरिएको जानकारी दिएका छन ।
वडाध्यक्ष महर्जनले सहयोगको लागि धन्यवाद व्यक्त गरेका थिए।



