माघ ६
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि भारत सरकारले नेपाललाई पहिलो चरणको चुनावी सहयोग हस्तान्तरण गरेको छ ।मंगलबार गृह मन्त्रालयमा आयोजित एक विशेष समारोहका बिच काठमाडौँस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले गृहमन्त्री ओमप्रकाश अर्याललाई ६० वटाभन्दा बढी ‘डबल–क्याब’ पिकअप गाडी र अन्य आवश्यक सामाग्री हस्तान्तरण गरेका हुन् ।
नेपाल सरकारले आसन्न निर्वाचनका लागि गरेको अनुरोध अनुसार भारतले उपलब्ध गराउन लागेको करिब ६५० वटा सवारीसाधन मध्ये यो पहिलो खेप हो । बाँकी गाडीहरू आगामी केही हप्ताभित्रै विभिन्न चरणमा नेपाल आइपुग्ने भारतीय दूतावासले जनाएको छ ।सहयोग ग्रहण गर्दै गृहमन्त्री अर्यालले भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिएका छन् । उनले यस सहयोगले निर्वाचनको तयारी र व्यवस्थापनमा ठुलो मद्दत पुग्ने बताउँदै नेपाल र भारतबिचको गहिरो र बृहत् सम्बन्धको प्रशंसा गरे ।




सन् २००८ देखि नै भारतले नेपालको निर्वाचनमा निरन्तर सहयोग गर्दै आएको छ, जस अन्तर्गत हालसम्म निर्वाचन आयोग र विभिन्न मन्त्रालयहरूलाई करिब २४ सय सवारीसाधन उपहार स्वरूप प्राप्त भइसकेका छन् ।
भारतीय दूतावासले यो सहयोग दुई देशबिचको बहुआयामिक विकास साझेदारीको प्रतिबिम्ब मात्र नभई दुई देशका जनताबिचको अटुट विश्वास र मित्रताको प्रतीक भएको उल्लेख गरेको छ ।



