बुटवल मसिर ८
३३औ अधिवक्ता तहको परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीले उत्कृष्ट स्थान हासिल गरेका छन् । बार काउन्सिलले लिएको परीक्षामा विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा अध्ययन गरेका विद्यार्थीहरु मञ्जिला ज्ञवालीले तेस्रो र प्रविन कुमारी तिवारीले पाँचौं स्थान प्राप्त गरेका हुन् ।
सिटी क्याम्पसमा पहिलो ब्याचका ४७ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ३७ जना उत्तीर्ण भएका हुन् । बार काउन्सिलले प्रकाशन गरेको अन्तिम नतिजामा लुम्बिनी प्रदेशमा ज्ञवाली पहिलो स्थानमा रहेकी छन् भने तिवारी दोस्रो स्थानमा रहेका छन् ।
विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुँले पहिलो पटक सहभागी भएको ब्याचका विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेकोमा खुसी व्यक्त गरे ।
विश्वविद्यालयले बुटवलमा सिटी क्याम्पस र दाङ्गमा तुलसीपुर मेट्रो कलेजमा बीएएलएलबी प्राध्यापन गराउँदै आएको छ ।









