भैरहवा मंसिर १९
भैरहवास्थित अंचलपुरमा आयोजना गर्न लागिएको ९ औं लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी पुरा भएको छ ।
आयोजक सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले बुधवार पत्रकार सम्मेलन गरेर मंसिर २० गतेदेखि पुस १ गतेसम्म संचालन हुने महोत्सवको तयारी पुरा भएको जनाएको हो ।‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मुल नाराका साथ बजार चलायमन गराउन लगायत उद्देश्यसहित महोत्सवको आयोजना गरिएको हो ।महोत्सवको बिहीबार दिउँसो १ बजे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर कुमार श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठले महोत्सवको उद्घाटन सत्रको तयारीमा रहेको बताए । उनले महोत्सव उद्घाटन अघि बिहान साढे १० बजे भैरहवास्थित देवकोटाचोकबाट झाँकीसहित ¥याली निकालिने जानकारी दिए ।



‘नेपालका अधिकांश जिल्लाका उत्पादन महोत्सवमा रहनेछ, मुस्ताङको अर्गानिक स्याउदेखि दैलेखको घरेलु उत्पादन राखिनेछ । अध्यक्ष श्रेष्ठले भने, ‘यसपटक कृषिलाई बढी महत्व दिएका छौं ।’ महोत्सवमा सुरक्षाको राम्रो प्रबन्ध गरिएको र स्टलसँगै बाल उद्यानमा खेल्ने दर्शकको बीमाको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।
२०६१ सालमा सिद्धार्थ उद्योग वाणिज्य संघले भैरहवामा महोत्सव सुरु गरेको उनले बताए । उनले महोत्सव सञ्चालन गर्न गठित ३३ सदस्यीय समितिले जिम्मेवारी निर्वाह गरिरहेको जानकारी दिए ।
संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवको स्टल व्यवस्थापन समिति संयोजक नेत्र प्रसाद आचार्यले महोत्सवमा ३ सय वटा स्टल निर्माण गरिएको बताए । उनले सबै स्टल बुक भइसकेको जानकारी दिए । ‘तिलोत्तमा र हेटौंडामा सञ्चालित महोत्सवको अवधि दुईदिन थपिएको कारण बिहीबार (भोली) केही स्टल खाली देखिन सक्छन् । तर, शुक्रबार साँझदेखि स्टलहरु भरिन्छन्, ’आचार्यले भने ।
महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा संघको रहेको महासचिव कृष्ण प्रसाद घिमिरेले बताए ।
‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मुल नाराका साथ महोत्सव पुस १ गतेसम्म सञ्चालन हुने संघका सचिव तथा प्रचार प्रसार समिति संयोजक मंगल भण्डारीले बताए ।






