चैत ३
भारत सरकारको आर्थिक सहयोग अन्तर्गत भोजपुरको षडानन्द नगरपालिका मा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घघाटन गरिएको छ।
सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले २ करोड २६ लाखको लागतमा निर्माण गरिएको अस्पताल भवनको बिहीबार संयुक्त रुपमा उद्घघाटन गरे।
उद्घाटन समारोहमा दूतावासका अधिकारी तथा स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै खम्पाले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाण भएको बताइन्। मन्त्री कार्कीले भारत सरकारको निरन्तर सहयोगका लागि आभार प्रकट गरे।



भवन निर्माण भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इण्डिया ७५’ आजादीका अमृत महोत्सव अन्तर्गत यस वर्ष नेपालमा उद्घघाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो। अस्पतालले भोजपुर र आसपासका जिल्लाका बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच प्रदान गर्ने भारतीय दूतावासले जनाएको छ।
१५ शैय्या को क्षमता भएको अस्पतालमा प्रसूति कक्ष, २४सैं घण्टा आपतकालीन स्वास्थ्य परीक्षण कक्ष, बालबालिका वार्ड, शल्यक्रिया कक्ष, प्रतिक्षालय, प्याथोलोजी ल्याब, चिकित्सक तथा नर्स कक्ष, महिला तथा आगन्तुका लागि छुट्टाछुट्टै शौचालय र फर्निचर तथा अस्पताल उपकरणको व्यवस्था गरिएको छ।



