
चैत ३
–चीन सग वैदेशिक व्यापार गर्न उत्तर तर्फ हाल दुईवटा नाका सञ्चालन मा छन् । रसुवा जिल्लाको रसुवागढी र सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सार नाका नेपाल र चीन बीच सिधा व्यापार गर्ने दुईवटा नाका हुन् । तर, यी दुई वटै नाकामा चीनले वर्षौदेखि नेपाल माथि थिचोमिचो गर्दै आएको छ ।
भन्सार विभागले सार्वजनिक गर्ने प्रत्येक महिनाको वैदेशिक व्यापार सम्बन्धी तथ्यांकले पनि यही देखाउँछ । नेपाल–चीन वैदेशिक व्यापार गर्न सञ्चालनमा आएका यी दुई नाकाबाट विगत ३ वर्षदेखि नेपाल लाई सामान बेचेको बेच्यै छ, त्यो पनि आफ्नै शैलीमा । यसको अर्थ, नेपालले चीनबाट तातोपानी र रसुवागढी नाका हुँदै किन्ने सामान पनि यताको बजारलाई चाहिएजति पठाउँदैन ।
विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८÷७९ को सात महिनाको तथ्यांक अनुसार रसुवा र तातोपानी नाका बाट चीनतर्फ शून्य निर्यात छ । यी दुई वटै नाकाबाट चीनतर्फ निकासी भएको छैन । तर, यी दुई वटा नाकाबाट चीनतर्फ निर्यात ठप्प भएको आर्थिक वर्ष २०७७÷७८ देखि नै हो । उक्त आर्थिक वर्षमा पनि नेपालबाट चीनतर्फको निकासी शून्यमा थियो ।
आर्थिक वर्ष २०७६÷७७ मा भने नेपालबाट रसुवागढी नाका हुँदै ५८ करोड २३ लाख रुपैयाँको र तातोपानी नाका हुँदै १३ करोड ७६ लाख रुपैयाँको निर्यात भएको थियो । त्यसयताका दुई आर्थिक वर्षमा निर्यात शून्य रहेको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
नेपाल–चीन चेम्बर अफ कमर्सका महासचिव विवेक पौडेल ले सरकार समक्ष पटक–पटक अवरोध खुलाउन अनुरोध गरिसकेको बताए । ‘भन्सार विभागसँगको बैठकले हामीले धेरै पटक यस विषयमा कुरा उठाएका छौँ,’ ‘उनी भन्छन्, ‘तर हामीले भनेको कुरा राज्यले नसुन्या हो वा चिनियाँ पक्षले नेपाल सरकारलाई नसुन्या हो । हामी अन्योलमा छौँ ।’






