सोमबारदेखि प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता हुँदै

२०८२ माघ १९, आईतवार
पढ्ने समय : 2 मिनेट

भैरहवा माघ १८
सोमबारदेखि प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोतिा हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा पहिलो पटक टाइटल स्पोन्सर राखेर छनोट प्रतियोगिता हुन लागेको हो । भैरहवाको सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा प्रतियोगिता हुनेछ ।
आयोजकले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् । माघ २४ गतेसम्म संचालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका ७ वटा जिल्लाका टिम सहभागी हुने खेल संयोजक एवं संघका प्रदेश सदस्य प्रथम पराजुलीले जानकारी दिए । उनका अनुसार रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम प्रतियोगितामा सहभागी हुनेछन् ।
संघका अध्यक्ष विनय राजभण्डारीले नेपाल क्रिकेट संघको सहयोगमा हुने प्रतियोगितामा पहिलोपटक प्रायोजकहरुको साथ लिएर छनोट खेललाई थप व्यवस्थित बनाइएको जनाए । उनले कतिपय जिल्लाहरुलाई अझै समेट्न नसकिएको जनाउँदै क्यानबाट मान्यता दिलाउन पहल भइरहेको बताए । नेपाल क्रिकेट संघका पूर्वकार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले विगतमा लुम्बिनी प्रदेश मुलुककै क्रिकेटमा अब्बल सावित रहे पनि पछिल्लो समय विभिन्न उपाधि जित्नबाट चुकिरहेको जनाए । उनले यसपटक राम्रो मैदानमा छनोट खेल हुन लागेको, प्रशिक्षण र सुविधा समेत राम्रो रहेकाले प्रधानमन्त्री कप जित्ने विश्वास व्यक्त गरे । मल्लले पछिल्लो समय प्रदेश क्रिकेट संघ समेत व्यवस्थित हुँदै गएकोमा खुशी व्यक्त गरे ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले हरेक दिन संघका कार्यक्रमहरु र प्रतियोगितालाई व्यवस्थित गरिएको जनाए । उनले यसपटक प्रदेशस्तरीय छनोट खेल अघि रुपन्देहीको टिम तयार गर्न पनि छनोट प्रतियोगिता मार्फत् खेलाडी छनोट गरिएको जनाए । यसले राम्रा खेलाडीहरुले अवसर पाइराखेको र विवाद रहित बनाएको थापाले दावी गरे ।
टाइटल स्पोन्सर एक्स्ट्रिम इनर्जी ड्रिंक उत्पादक कम्पनी एग्रो थाई फूड्सका लुम्बिनी प्रदेश प्रबन्धक रामबहादुर क्षेत्रीले हरेक खेलकुदलाई उकास्न कम्पनीले सहयोग गरिरहेको जनाए । उनले यसपटक पनि प्रधानमन्त्री कप लुम्बिनी प्रदेशमै आयोजना गर्न पहल गर्नुपर्नेमा जोड दिए ।
छनोट खेलको विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्लेयर अफ द म्याचले ११ हजार १ सय ११ र प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार १ सय रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । यसपटक प्रतियोगितालाई एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिस, बुटवल, ग्रुप ४ प्रोडक्ट प्रालि, काठमाडौं र ग्रुप ४ सेक्युरिटी सर्भिस प्रालि, काठमाडौंले प्रयोजन गरेका छन् । पत्रकार सम्मेलनमा जर्सी र ट्रफी समेत सार्वजनिक गरिएको थियो । यस वर्षको प्रधानमन्त्री कप चैत्रमा आयोजना गर्ने गरी क्यानले तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय