अन्तरविद्यालय क्रिकेटः लुम्बिनी शिक्षा निकेतन र लीलाराम सेमिफाइनलमा

२०८२ मंसिर २९, आईतवार
पढ्ने समय : 2 मिनेट

भैरहवा मसिर २८
लुम्बिनी शिक्षा निकेतन र रुपन्देही लीलाराम मावि भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेका छन।् आइतबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले जेसिज बोर्डिङ सेकेन्डरी स्कूललाई २९ रन र लीलारामले स्प्याङ्गल स्कूललाई १ सय ४१ रनले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेका हुन् ।टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी शिक्षा निकेतनले ६ विकेट गुमाएर १ सय २७ रन बनायो । उसका लागि बासुदेव यादवले ४४, जाभेद खानले ३२, अलिउद्दिन खानले १८ र आजाद खानले नटआउट १० रन बनाए । बलिङमा जेसिजका आमोद बस्यालले २ तथा शिशिर घिमिरे र प्रथम जीएमले १–१ विकेट लिए ।


जवाफी ब्याटिङ गरेको जेसिजले ९ विकेट गुमाएर ९८ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि सम्राट राईले २४, आसिफ रहमानले १८ र सरजाद आलमले ११ रन बनाए । बलिङमा लुम्बिनी शिक्षा निकेतनका तौफिक अहमद र अफसल खानले ३–३ तथा अफताब खानले २ र सफिउल्लाह खानले १ विकेट हात पारे । तौफिक अहमद प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।
यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देही लीलारामले ९ विकेट गुमाएर १ सय ७५ रनको बलियो योगफल बनायो । उसका लागि अजय केवटले ६१ रन अर्धशतकीय पारी खेले । यस्तै, प्रेमसागर यादवले २५ र आयन खानले २२ रन बनाए । बलिङमा स्प्याङ्गलका कृष्ण कोइरी र राजन यादवले २–२ तथा निरज कलवार र अर्मन खानले १–१ विकेट लिए ।प्रतिउत्तरमा स्प्याङ्गल ११ ओभर २ बलमा ३४ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न बलिङमा लीलारामका फैजन खानले ४, आयन खानले ३, कृष्णमोहन कुर्मीले २ तथा प्रेमसागर यादवले १ विकेट हात पारे । स्प्याङ्गलका अभी चौधरीले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । अजय केवट प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्ने छ । प्रतियोगितालाई पर्वत ज्वेलर्स, भैरहवाले प्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय