भैरहवा मसिर २६
स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा लुम्बिनी शिक्षा निकेतन र रुपन्देही लीलाराम मावि विजयी भएका छन् । लुम्बिनी शिक्षाले कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कूललाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यस्तै, लीलारामले शान्ति नमूना माविलाई २ विकेटले पराजित गर्दै जित निकालेको छ। भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी शिक्षा निकेतनले ७ विकेट गुमाएर १ सय ८९ रन बनायो । उसका लागि बासुदेव यादवले अविजित १ सय २७ रनको शतकीय पारी खेले । यस्तै, आसिफ खानले १९ र जाभेद खानले १४ रन जोडे । बलिङमा कुँवरवर्तीका अन्जित केसीले २ तथा आकाश गिरी र सरगम तिवारीले समान १–१ विकेट लिए ।जवाफी ब्याटिङ गरेको कुँवरवर्ती १९ ओभर ५ बलमा सबै विकेट गुमाएर ७० रनमै समेटियो । उसका लागि अन्जित केसीले ३५ र उपेश सेनले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा लुम्बिनी शिक्षा निकेतनका तौफिक अहमदले ३, अफताब खानले २ तथा बासुदेव यादव र अफसर खानले १–१ विकेट लिए । बासुदेव यादव प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको शान्ति नमूनाले सबै विकेट गुमाएर १०० रन बनायो । उसका लागि प्रसन कार्कीले १९, कोशिश पाण्डेले १५ र नितिश ठाकुरले १३ रन बनाए । बलिङमा लीलारामका आयन खानले ४, फैजन खानले ३ तथा कृष्णमोहन कोइरी र विक्की मल्लाहले १–१ विकेट लिए ।प्रतिउत्तरमा लीलारामले १६ ओभर १ बलमा ८ विकेट गुमाएर १ सय ४ रन बनाउँदै जित निकाल्यो । उसको जितमा मोहमद युसुफ र आयन खानले समान १७ रन बनाउँदा अजय केवटले १५ र लक्की यादवले ११ रन जोडे । बलिङमा शान्ति नमूनाका रुदान्स भट्टराईले ३, नितिश ठाकुर र सफल पाठकले २–२ तथा दिवस अर्यालले १ विकेट हात पारे । आयन खान प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।रुपन्देहीका ३० वटा विद्यालयकोे सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्ने छ । प्रतियोगितालाई पर्वत ज्वेलर्स, भैरहवाले प्रायोजन गरेको छ ।






