एमसीसी विशुद्ध आर्थिक सहयोगको विषय बनोस् ः माधवकुमार नेपाल

२०७८ पुष ५, सोमबार
पढ्ने समय : < 1 मिनेट

पुस ५,

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका छन् ।
सोमबार समाजवादी प्रेस संगठन नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसीको बारेमा सत्ता साझेदार ५ दलबीच छलफल गरेर साझा निस्कर्ष निकालिने बताए । अध्यक्ष नेपालले सेनासँग वा नेपालको सार्वभौम सत्तासँग एमसीसी जोडिनु नहुने बताए ।
उनले आफूले एमसीसीको अन्तर्वस्तुका बारेमा छलफल गरिरहेको र त्रुटी कमजोरी छन् भने सच्याएर मात्रै अघि बढ्ने बताए । अध्यक्ष नेपालले छिमेकी देशहरुमाथि कुनै किसिमबाट असर नपर्ने गरी एमसीसी अघि बढाइने बताए।
’एमसीसीबारे हामी छलफल गरिरहेका छौं । तीन जनाको कमिटी बनाइएको छ । त्यो कमिटीले पनि अध्ययन गरेर आफ्नो निस्कर्ष अघि सार्नेछ । हामी जनभावनालाई पनि हेरिरहेका छौं । नेपाललाई कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरालाई हामी स्वीकार्न सक्दैनौं । अहिले एमसीसीसँग जोडिएकाहरुले यो गठबन्धनको अंग होइन भनेर हामीलाई प्रष्ट पार्ने कोसिस गरिरहेका छन् । यसलाई हामीले राम्रो वातावरणमा, सहज वातावरणमा अघि बढाउन चाहन्छौं । यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस्,’अध्यक्ष नेपालले भने, ’सेनासँग वा अन्य कुनै पनि कुराहरुसँग, नेपालको सार्वभौम सत्तासँग जोडिने कुरा नहोस् । छिमेकीहरुमाथि कुनै किसिमबाट असर पर्ने कुरा नहोस् । ५ दलको बीचमा छलफल गरेर साझा निस्कर्ष निकालेर देशको हीतको रक्षा गर्ने कुरालाई सुनिश्चित गरेर नै अघि बढ्नेछौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय