प्रतिनिधि नछान्दै बन्दसत्रको तयारी

२०७८ पुष ३, शनिबार
पढ्ने समय : < 1 मिनेट

पुस ३,

धनुषा — नेकपा माओवादी केन्द्रले प्रतिनिधि चयन नसक्दै प्रदेश २ मा प्रथम प्रदेश अधिवेशनको बन्दसत्र आयोजना गर्ने तयारी गरेको छ । जनकपुरमा मंसिर २५ मा उद्घाटन गरिएको अधिवेशनको बन्दसत्र शनिबारदेखि लालबन्दीमा सुरु हुने माओवादी केन्द्र प्रदेश २ का इन्चार्ज प्रह्लाद बुढाथोकीले बताए ।
बन्दसत्रबारे छलफल गर्न शुक्रबार बैठक बसेको थियो । बैठकले बन्दसत्र आयोजना, प्रदेश कमिटी गठन र राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि चयन गर्ने विषयमा छलफल भएको प्रदेश इन्चार्ज बुढाथोकीले बताए ।
सप्तरीबाट प्रतिनिधि चयन विवाद समाधानका लागि शुक्रबार प्रयास भए पनि सहमति नभएको उनले बताए । माओवादीमा प्रदेश कमिटीको नेतृत्वका लागि कसैले पनि उम्मेदवारी घोषणा गरेको छैन । तर, प्रदेश अध्यक्षका लागि प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, रामकुमार शर्मा, प्रह्लाद बुढाथोकी आन्तरिक तयारीमा जुटेका छन । नेताहरू २ सय ७१ सदस्य प्रदेश कमिटी सर्वसम्मत चयन गर्न आन्तरिक छलफलमा जुटेका हुन ।

जिल्लाबाट आएका प्रतिनिधिहरूबाट प्रदेश कमिटीका लागि २ सय ७१ जना चयन गरी उनीहरूलाई नै पदाधिकारी छनोट गर्ने जिम्मेवारी दिइने तयारी गरिएको एक नेताले बताए । प्रदेश २ का १ सय ३६ मध्ये २५ पालिकामा अधिवेशन हुन सकेको छैन । सप्तरीका १५ स्थानीय तहमा माओवादीले अधिवेशन गराउन सकेको छैन ।

पालिका अधिवेशन नभएका ठाउँको विवाद टुंग्याउन शुक्रबार रातिसम्म पनि प्रयास भइरहेको इन्चार्ज बुढाथोकीले बताए । उनले शनिबारसम्म विवादको निकास नआए पनि प्रदेश अधिवेशनको बन्दसत्र आयोजनामा गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय