नेपाल–भारत सम्बन्ध कसैले टुटाउन सक्दैन ः भारतीय पर्यटनमन्त्री

२०७८ पुष ९, शुक्रबार
पढ्ने समय : 2 मिनेट

पुस ८,

नयाँ दिल्ली — भारतका केन्द्रीय पर्यटनमन्त्री जी किसन रेड्डीले ’केही शक्ति’ले नेपाल र भारतबीचको सम्बन्ध तोड्ने प्रयास गरे पनि त्यसमा उसले सफलता प्राप्त नगर्ने बताएका छन् ।
नयाँदिल्लीमा बिहीबार नेपाली संस्था किताब यात्रा फाउन्डेसनले आयोजना गरेको किताब यात्रा कार्यक्रममा उनले सृष्टिको उत्पतिदेखि नै दुई देशबीच सम्बन्ध कायम रहेको बताए ।

‘यो आजभोलिको सम्बन्ध होइन, सीता नेपालको र राम भारतका थिए, गौतमबुद्ध नेपालमा जन्मिए, ज्ञान भारतमा आर्जन गरे,’ उनले भने, ‘यस्तो सम्बन्धलाई कसैले तोड्न वा त्यसमा ग्याप ल्याउन सफल हुने छैन ।’

उनले दुई देशबीचको सम्बन्धलाई बिगार्न चाहने शक्ति आफैँ सकिएर जाने ठोकुवा गरे ।
एक साताअघि मात्रै भारतीय रक्षामन्त्री राजनाथ सिंहले देहरादुनको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तै मन्तव्य दिएका थिए । उनले टाउको झुकाएर भए पनि नेपालसँग सम्बन्ध बिग्रिन नदिने बताएका थिए ।

सिंहपछि मन्त्री रेड्डीले नेपालसँगको सम्बन्धलाई त्यही महत्व दिएर राजनीतिक भाषण दिएका हुन् । उनले दुई देशबीचको सम्बन्धमा केही तलमाथि भए पनि त्यसलाई सुधार गरिने उनको आशय थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालसँग धेरै बढी लगाव रहेको भन्दै उनले प्रधानमन्त्री मोदीले जहिले पनि नेपाललाई विशेष महत्व दिने गरेको बताए । ‘हाम्रो प्रधानमन्त्रीले ज्ञान प्राप्तीका लागि पशुपति नाथ, मुक्तिनाथ र कालीगण्डकी क्षेत्रमा चार वर्ष बिताउनु भएको छ,’ उनले भने ‘त्यस कारणले पनि सबैभन्दा बढी नेपाल भ्रमण गर्ने भारतीय प्रधानमन्त्री मोदी नै हुनुहुन्छ ।’

उनले गरीबी, बेरोजगारी हटाउन तथा भौतिक पूर्वाधारको निर्माणमा दुवै देश आपसी सहयोग गरेर अगाडि बढ्न सदैव प्रयत्नशील रहनुपर्ने बताए । कोरोनाका कारण पर्यटन क्षेत्र ठूलो मारमा परेको भन्दै नेपालमा पर्यटनको ठूलो सम्भावना रहेको र भारत सरकार त्यसमा सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दुई देशबीच जनस्तरमा कायम रहेको सम्बन्धको चर्चा गरेका थिए । उनले दुई देशबीच धेरै नजिकको सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध रहेको बताए ।

किताब यात्रामा नेपाली लेखकका किताब राखिनुका साथै दुई देशबीच कायम विभिन्न विषयमा ‘प्यानल डिस्कसन’ गरिएको छ । नेपाल–भारत सम्बन्ध, रेमिट्यान्स, कला र साहित्य, विश्वमा नेपाल जस्ता शीर्षक र कविता सत्रको आयोजना गरिएको थियो ।

प्यानल डिस्कसनमा कलाकार हरिवंश आचार्य, उद्योगी वरुण चौधरी, लेखक अमर न्यौपाने, पत्रकार विकास रौनियार, टीकाराम यात्री, समा थापा, आईएमईका कार्यकारी प्रमुख सुमन पोखरेल लगायतका व्यक्तिहरू नेपाल पक्षबाट सहभागी थिए ।

यस्तै, भारतीय पक्षबाट नेपालका लागि पूर्वभारतीय राजदूत केभी राजन, पत्रकार कादम्बिनी शर्मा, लेखक अतुल ठाकुर, मनिष खुराना लगायत व्यक्तिले आफ्नो विचार राखेका छन् ।

आयोजक संस्था किताब यात्राका अध्यक्ष ऋषिराम अधिकारीले नेपालमा चारवटा संस्करण पूरा गरेपछि नेपाल बाहिर भारतबाट विश्व यात्राको थालनी गरिएको बताए । उनले यस्ता कार्यक्रमले नेपालको भाषा, संस्कृतिको पहिचानलाई बाहिर चिनाउने काम गर्ने अपेक्षा राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय