सिद्धार्थ नगर नगर पालिका वडा नम्बर ३ का सदस्य द्वारा आफनो पारिश्रमिक बाट अक्षयकोष स्थापना

२०७८ पुष २१, बुधबार
पढ्ने समय : < 1 मिनेट

 

 

पुस २१
रुपन्देही का एक वडा सदस्यले आफूले पाएको पारिश्रमिक वापतको रकमबाट अक्षयकोष स्थापना गरेका छन् ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट वडा सदस्यमा निर्वाचित नारायण प्रसाद उपाध्यायले आफ्नो आमा स्वर्गीय सावित्रा उपाध्यायको नामबाट अक्षयकोष स्थापना गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित उपाध्यायले पाँच वर्षे कार्यकालको तलब, भत्तावापत हुने ५ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजको रकम सिद्धार्थनगर वडा नम्बर ३ मा स्थायी बसोबास गर्ने विपन्न परिवारलाई सहयोग गर्ने उपाध्यायले बताए ।
‘अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजले आर्थिक अवस्था कमजोर भएका वडावासीलाई केही भए पनि सहयोग गर्ने उद्देश्यले स्व. आमाको नामबाट अक्षयकोष स्थापना गरेको ब्याजको रकमले उपचार, क्रिया खर्च लगायतका कार्यमा सदुपयोग गरिने उपाध्यायले बताए ।

‘सावित्रा उपाध्याय अक्षयकोष’को चेक मंगलबार एक कार्यक्रमका बीच वडा सदस्य उपाध्याय र राप्रपा रुपन्देहीका अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख सागर प्रताप राणाले अक्षयकोषका संरक्षक तथा तदर्थ समितिका अध्यक्ष कृष्ण प्रसाद भण्डारीलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व नगरप्रमुख राणाले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई समस्या समाधान गर्न आफूले पाएको पारिश्रमिकलाई सदुपयोग गर्दै वडाबासीको सहयोगका लागि अक्षयकोष स्थापना गर्नु प्रशंसनीय रहेको बताए ।
राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले पाँच वर्षमा पाएको तलब भत्ताबाट अक्षयकोषको स्थापना गर्नु आफैमा महत्वपूर्ण कार्य भएको बताए ।
अक्षयकोषका संरक्षक कृष्ण प्रसाद भण्डारीले अक्षयकोषबाट प्राप्त ब्याजको रकम सदुपयोग हुने बताए । राप्रपाका युवा नेता शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय