आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य सामाग्री भण्डारण नगर्न संघको आग्रह

२०८२ चैत्र ३, मंगलवार
पढ्ने समय : < 1 मिनेट

भैरहवा चैत ३
मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताले नेपालमा पनि इन्धन अभाव हुने हल्ला फैलिन थालेपछि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले अनावश्यक भण्डारण नगर्न र कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरेको छ।
संघले  जारी गरेको प्रेस विज्ञप्तिमा विश्व बजारमा उत्पन्न परिस्थितिले ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा असर पर्न सक्ने आशंका व्यक्त गरिएको उल्लेख छ । त्यही आशंकाका कारण उपभोक्ताले आवश्यकता भन्दा बढी भण्डारण गर्ने र बजारमा अनावश्यक त्रास फैलिने अवस्था देखिन थालेको संघले जनाएको छ।
विज्ञप्ति अनुसार हाल ग्यासको आपूर्तिमा केही संकुचन देखिए पनि पेट्रोल, डिजेल र मट्टितेलको आपूर्तिमा तत्काल कुनै गम्भीर समस्या देखिएको छैन । तर, अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भइरहेकाले दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर पर्न सक्ने सम्भावना रहेको जनाइएको छ।
संघले यस्तो अवस्थामा उद्योगी तथा व्यवसायीलाई मौज्दातमा रहेका वस्तु उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउन र अतिरिक्त लाभको लोभमा कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरेको छ । उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी ग्यास, पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य सामग्री भण्डारण नगर्न अनुरोध गरिएको छ।
संघका अध्यक्ष नेत्र प्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको मुलुकमा आपूर्ति प्रणालीलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउनु आवश्यक रहेको उल्लेख गरिएको छ । साथै इन्धन आपूर्ति व्यवस्थापनलाई थप सुदृढ बनाउन नेपाल सरकारले सम्बन्धित निकायमार्फत प्रभावकारी समन्वय, अनुगमन र नियन्त्रणका उपाय अपनाउनुपर्नेमा जोड दिइएको छ।
वर्तमान परिस्थितिमा सबै व्यवसायीले सेवाभावका साथ संयमता अपनाउँदै उपभोक्तालाई सहज सेवा दिनुपर्ने र उपभोक्ताले पनि अनावश्यक हल्ला तथा कृत्रिम संकट सिर्जना हुने गतिविधिबाट टाढा रहनुपर्ने संघले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय