लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा नगरप्रमुख इश्तियाक अहमद खानको शुभकामना

२०८२ मंसिर १०, मंगलवार
पढ्ने समय : < 1 मिनेट

भैरहवा मसिर ९
सिद्धार्थनगर नगरपालिका, भैरहवाका नगरप्रमुख तथा संविधानसभा सदस्य इश्तियाक अहमद खानले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नगरवासी तथा समस्त नेपालिजनहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
नगरप्रमुख खानले नेपालमा अझै पनि कुप्रथा, कुरीति र विभिन्न विभेदका कारण लैङ्गिक हिंसा कायम रहेको उल्लेख गर्दै यसको पूर्ण निर्मूलीकरण नै समृद्ध, न्यायपूर्ण र समतामूलक समाज निर्माणको बलियो आधार भएको बताउनुभयो। उहाँले भन्नुभयो, “लैङ्गिक हिंसालाई जरौदेखि उखेल्न परिवार, समुदाय, नागरिक समाज र सरकारी संयन्त्र सबैको सक्रिय सहभागिता तथा एकताबद्ध प्रयास अपरिहार्य छ।”
नेपालको संविधानले परिकल्पना गरेको लैङ्गिक समानता र सम्मानजनक जीवनको प्रत्याभूतिका लागि कानुनको प्रभावकारी कार्यान्वयन, पीडितहरूको तत्काल उपचार, संरक्षण र पुनस्र्थापना चुस्त–दुरुस्त बनाउनु आजको टड्कारो आवश्यकता रहेको उहाँको भनाइ छ।सिद्धार्थनगर नगरपालिकाले लैङ्गिक हिंसा अन्त्यलाई विकासको मुख्य आधार ठानेर अघि बढिरहेको र यसै क्रममा लैङ्गिक समानता नीति कार्यान्वयनमा ल्याइसकेको नगरप्रमुख खानले जानकारी दिनुभयो।
उहाँले यो १६ दिने अभियानले वर्षभरि नै (३६५ दिन) सबैलाई समानता, न्याय र आपसी सम्मानमा आधारित सुरक्षित तथा सभ्य समाज निर्माण गर्न थप प्रेरणा र ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, लैङ्गिक हिंसा रहित, समान र समृद्ध नगर निर्माणको साझा संकल्पमा सबैले हातेमालो गरी अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय