माघ २१
चीन र मलेसियाका लगानीकर्ताले रुपन्देही केन्द्रीत रहेर संचालन हुने उद्योग क्षेत्रमा आफ्नो प्रविधि र आर्थिक लगानीका लागि तयार रहेको जनाएका छन् । उनीहरुले दक्षिणी छिमेकी देश भारत र अन्य युरोपियन देशहरुमा समेत लगानीका लागि प्रशस्त संभावना भएको जनाउँदै यसको वातावरण रुपन्देही भएकाले आफूहरु त्यसका लागि तयार रहेको जनाएका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थल, कच्चा सामाग्री ल्याउन सहज, तापक्रमका हिसाबले पहाडको नजिक र जनशक्ति पाउन समेत सहज, ढुवानीको सहज वातावरण भएकाले यो क्षेत्रबाट उत्पादन गरेर निर्यातको प्रशस्त संभावना देखेको आफ्नो अध्ययनले देखाएको उनीहरुको धारणा छ । प्रदेश सरकारसँग यसबारे अघि बढेका उनीहरुले यहाँका उद्योगीहरुसमक्ष यसको वातावरणका विषयमा छलफल थालेका छन् ।




मलेसियाका स्टेवार्ड चोङ, चीनका जोएसन छिन, भेलिरिन क्वीन, मार्क लाइकको टोलीले यो क्षेत्रमा अस्तव्यस्त रहेको फोहोर प्रशोधन गरेर धेरै वस्तु उत्पादन गर्न सकिने र त्यसको ठूलो परिणाममा निर्यात गर्न सकिने संभावनासहित रुपन्देहीमा आएको जनाएका छन् । उनीहरुले रुपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रका विभिन्न क्षेत्रहरुमा यसको गहिरो अध्ययन गरी यस्तो निचोड निकालेको जनाउँदै स्थानीयले समन्वय गरेर कानुनी झन्झटमा नपारे प्रविधि र लगानीमा साथ दिने जनाएका हुन् ।
लुम्बिनीका पूर्वमन्त्री तथा प्रदेश सांसद विष्णु पन्थीको साथ यस क्षेत्रका विभिन्न संभाव्यता अध्ययन गरेका उनीहरु यहाँको वातावरणबाट प्रभावित भएका हुन् । यो टोलीको नेतृत्व गरेका मलेसियाको जेबीसी र जेडीएफका अध्यक्षसमेत रहेका स्टेवार्ड चेनले यति ठूलो संभाव्यता रहेको स्थानमा बस्ने नेपालीले आयात गर्ने नभई निर्यात गर्ने वस्तु उत्पादन गर्नुपर्ने जनाए । ‘दक्षिणी क्षेत्रमा यति ठूलो जनसंख्या भएको छिमेकी देश छ, यहाँ यति ठूलो संभाव्यताको क्षेत्र छ उद्योगहरुका लागि, अब तपाईहरुले बाहिरबाट सामान ल्याउने होइन पठाउने योजना बनाउनुहोस्, प्रविधि र लगानीको वातावरण हामी मिलाउँछौं, सधैधरी आयात गरेर हुँदैन, अब निर्यात गर्ने वस्तु ठूलो मात्रामा उत्पादन गर्नुस्, भारतपछि युरोपियन मुलुकमा पठाउनुपर्छ’ उनले भने ।
‘भारतसँग बोर्डरमा कुनै समस्या छैन, उत्पादन गरेका सामाग्री निर्यातको योजना बनाउनुपर्छ, चीन, मलेसिया, युरोपमा भएका लगानीकर्ताहरुले यहाँ धेरै संभावना देखेका छन्, यहाँको वातावरण बनाएर अब औद्योगिक क्षेत्रमा ध्यान दिनुपर्छ’ स्टेवार्डले भने‘ अन्र्तराष्ट्रिय विमानस्थल छ, ढुवानीको सहजता रहेछ, अब यसमा ढिलाई नहोस् ।’ उनले नेपालबाट भारत निर्यात के के भएका छन् र अब के हुनसक्छन् भन्ने विषयमा पनि गहिरो अध्ययन गरेको जनाए । उनीहरुको भ्रमण टोलीलाई संयोजन गरेका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थीले कानुनी उल्झन नदिएर लगानीको वातावरण बनाउन सके यस्ता खालका लगानीकर्ताहरु धेरै रहेको बताउँदै यसको वातावरण सबै मिलेर बनाउनुपर्ने जनाए ।चाइनिज, मलेसियनसहित विश्वका धेरै देशका लगानीकर्ताहरु यहाँको प्रशस्त संभावना देखेर लगानीका लागि तयार छन्, तर यहाँ साना साना स्वार्थका कारण हुने विवादमा उनीहरु जोडिन चाहदैनन्’ उनले भने–‘अहिलेको टोलीले फोहोरमैला प्रशोधनको ठूलो योजना लिएर आएको छ, अहिले सबै पालिकामा ठूलो चिन्ताको विषय बनेको फोहोरबाटै उनीहरुले प्रविधिको प्रयोगबाट विभिन्न उत्पादनको योजनालाई अघि सारेका छन्, हामीकहाँ कामभन्दा धेरै विरोध र हल्ला भएर समस्या भएको हो, अब लगानीको वातावरण बनाउनुपर्छ ।’
यो टोलीले रुपन्देही उद्योग संघको टोलीसँग यहाँ आएर लगानीको वातावरणका विषयमा पनि लामो छलफल गरेको छ । संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले लगानी अध्ययनका लागि आएको टोली यहाँको वातावरण हेरेर निकै सन्तुष्ट भएको र अब यसका विषयमा सबैले चासो दिएर समन्वय गर्नुपर्ने जनाए ।
‘चिनियाँ र मलेसियन लगानीकर्ताको टोलीले यहाँ लगानी गरेर निर्यात गर्नसकिने विषयमा हामीसँग मिहीन छलफल चलाएको छ, यसमा हामीहरु निकै प्रभावित भएका छौं अब यस्तो उत्साहित लगानीकर्तालाई कसरी यहाँ ल्याउन सकिन्छ भन्ने विषयमा निजी क्षेत्र र तीन तहका सरकारले विशेष योजना बनाउनुपर्छ’ उनले भने ।
संघका महासचिव रहेका युवा उद्योगी सुमन बस्यालले यसरी आएका विदेशी उद्योगीहरुसँग सहकार्य गरेर नै अघि बढ्न सकिने जनाए । ‘स्पष्ट योजना लिएर प्रविधि र लगानीको ढाडस दिनेहरुबाट हामीले केही न केही लिनसक्नुपर्छ, यो निकै सकारात्मक पक्ष हो’ उनले भने–‘अहिले विश्वका धेरै देशका लगानीकर्ताहरुले निर्यातको संभावना भएका ठाउँहरुमा अध्ययन गरेर नै लगानीको योजना बनाएका हुन्छन्, सायद उनीहरुको पनि यही नै होला, यसमा ढिलाई गर्नुहुँदैन ।’ बस्यालले टोलीसँग संघले द्धिपक्षीय सहकार्य गरेर अगाडि बढ्ने विषयमा प्रस्ताव राखेको र उनीहरुले त्यसलाई सहज रुपमा लिएको जनाए ।



