भैरहवा माघ २५
रुपन्देही जिल्ला क्रिकेट टीम प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । उसले फाइनलमा बाँके जिल्ला क्रिकेट टीमलाई १ सय ९९ रनको फराकिलो अन्तरले पराजित गर्दै छनोट खेल च्याम्पियन बनेको हो । छनोट खेलको विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ३० ओभरमा ४ विकेट गुमाएर २ सय ६३ रनको बलियो योगफल बनायो । उसका लागि देब खनालले १ सय ३७ रनको शतकीय पारी खेले । यस्तै, प्रज्जवल थापाले ७४ रन जोड्दा अकाश त्रिपाठीले १४ र सन्दीप राजलीले १० रन बनाए । बलिङमा बाँकेका लभकुश यादव, अजय शाहनी र गौतम कनौजियाले समान १–१ विकेट लिए ।जवाफी ब्याटिङमा आएको बाँके १६ ओभर ३ बलमा अलआउट हुँदै ६४ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा रुपन्देहीका सन्देश थापाले ४, अजयकुमार चौहानले ३, रमेश कुर्मीले २ तथा कृष्ण कार्कीले १ विकेट हात पारे । बाँकेका रोहन केसीले १२ र युवराज शर्माले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
फाइनल खेलमा रुपन्देहीका देव खनाल प्लेयर अफ द म्याच भए । छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरेका देव म्यान अफ द सिरिज समेत भई ११ हजार १ सय ११ र रुपैयाँ प्राप्त गरे ।
लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा सम्पन्न छनोट खेलमा सात जिल्लाका टीम सहभागी थिए् । प्रतियोगिताको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक उत्पादक कम्पनी एग्रो थाई फूड्स थियो भने प्रायोजकमा एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिस, बुटवल, ग्रुप ४ प्रोडक्ट प्रालि, काठमाडौं र ग्रुप ४ सेक्युरिटी सर्भिस प्रालि, काठमाडौं रहेको खेल संयोजक प्रथम पराजुलीले बताए । यस वर्षको प्रधानमन्त्री कप चैत्रमा आयोजना गर्ने गरी क्यानले तयारी गरिरहेको छ ।
विजेता र उपविजेता खेलाडीहरुलाई लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेय, लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारी, क्यानका पूर्व कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल, खेल संयोजक प्रथम पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए ।






