भैरहवा पुस २०
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा आइतबारदेखि ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । त्रिभुवन आर्मी क्लब ‘ए’ टीम र रुपन्देही–११ बीच स्पर्धा हुने गरी टेष्ट, वनडे र टी–२० क्रिकेट आयोजना गरिएको हो । नेपालमै पहिलोपटक तीनवटा फम्र्याटमा दुई टीमबीच प्रतिस्र्धा हुन लागेको यो पहिलोपटक हो। ।आइतबार सुरु टेष्टको पहिलो दिन आर्मीले रुपन्देहीविरुद्ध १६ रनले अग्रता लिएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको रुपन्देहीले ३३ ओभर १ बल खेल्दै १ सय २२ रनमा अलआउट भयो । उसका लागि आकाश त्रिपाठीले ३७, सन्देश थापाले २०, प्रज्वल थापाले १९ र मिर्नाल गुरुङले १८ रन बनाए । बलिङमा आर्मीका अनिश धामीले १३ ओभरमा ४५ रन खर्चेर ५ विकेट लिए । यस्तै, घनश्याम पाण्डेले ३ र पारससिंह धामीले २ विकेट लिए ।
आर्मीले पहिलो इनिङमा ४४ ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन बनायो । जसमा प्रदीप पेलाले ४८ र जितेन्द्रसिंह ठकुरीले ४३ रन बनाए । बलिङमा रुपन्देहीका अजय चौहान र विप्रसन केसीले ३–३, सुरज खड्काले २ र देव खनालले १ विकेट लिए । टेष्टको बाँकी खेल सोमबार हुनेछ ।



प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिश सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा विजेता टीमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यी दुबै पुरस्कार भैरहवाको लुम्बिनी नेत्रालय प्रालिले प्रायोजन गरेको छ ।
प्रतियोगिता संयोजक प्रथम पराजुलीलका अनुसार पुस २० र २१ गते टेष्ट, २३, २५ र २७ गते ओडीआई, २९, ३० र माघ १ गते टी–२० क्रिकेट सिरिज हुनेछ । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले क्रिकेट खेल युवाहरुको जीवनसँग जोडिएको बताए । संघका अध्यक्ष हरिबहादुर थापाले क्रिकेटको विकासका लागि प्रतियोगिता आयोजना गरिएको जनाए ।



