भदौ १७
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा तिब्बती भाषा, संस्कृति पढाइ हुने गरेको छ। गाउँपालिकाका विभिन्न विद्यालयहरूमा तिब्बती भाषा, लिपि, संस्कार, संस्कृतिको पढाइ हुने गरेको हो।
वडा नं. १ को गौरीशंकर आधारभूत विद्यालयमा कक्षा १ देखि ६ सम्मका विद्यार्थीले तिब्बती भाषामा पढ्ने गरेको प्रधानाध्यापक योजबहादुर गुरुङले जानकारी दिए। उनीहरूलाई भाषा पढाउने दुई जना शिक्षकका लागि लामा गुरुहरूले तलबभत्ताको व्यवस्था गरेका छन्। खेम्पो लामा गुरुहरूले पाठ्यक्रम र पाठ्यपुस्तकको पनि व्यवस्था गरेको उनले बताए।
त्यस्तै वडा नं. २ को ल्हो माध्यमिक विद्यालयमा पनि तिब्बती भाषा, संस्कृतिको पढाइ हुने गरेको छ। ‘यहाँ विद्यालय खुलेदेखि नै तिब्बती भाषा, संस्कार, संस्कृतिको पढाइ हुने गरेको छ’, प्रधानाध्यापक सञ्जय ढकालले भने, ‘विद्यालय निर्माण गर्न सहयोग गर्ने सोनाम रिम्पोछेले दुईजना शिक्षक राख्न सहयोग गर्नुभएको छ।’ विद्यार्थीहरूमा स्थानीय पाठ्यक्रमको धेरै महत्व रहेको उनले बताए। ‘स्थानीय भाषाको पाठ्यक्रम र पाठ्यपुस्तक काठमाडौंमा पाइने रहेछ’, प्रधानाध्यापक ढकालले भने, ‘त्यो पाठ्यपुस्तकमा तिब्बती भाषा, संस्कार, संस्कृतिको बारेमा लेखिएको हुन्छ। स्थानीय भाषा, संस्कार, संस्कृतिको संरक्षणका लागि यसले धेरै टेवा पु¥याउँछ।’ वडा नं. ४ को नुब्री आधारभूत विद्यालयका कक्षा १ देखि ७ सम्म तिब्बती भाषाको पाठ्यपुस्तक पढाइ हुने प्रधानाध्यापक गणेश ढकालले बताए। यसअघि भोटभाषामा पढाउने शिक्षकलाई माउण्टेन चाइल्ड नामक संस्थाले तलबभत्ताको व्यवस्था गरेको थियो। सो संस्था नवीकरण नभएपछि विद्यालयको निजीस्रोतबाट तलबभत्ता दिनेगरी शिक्षक राखिएको प्रधानाध्यापक ढकालले बताए।









