रूपन्देही सुपरलिगः बुद्ध क्रिकेट क्लब ५ विकेटले विजयी

२०८२ चैत्र १९, बिहीबार
पढ्ने समय : 2 मिनेट

भैरहवा चैत १९
२४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको बिहीबारको खेलमा बुद्ध क्रिकेट क्लबले सहज जित हात पारेको छ । उसले शंकरनगर क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै जित निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको शंकरनगरले ३० ओभर ४ बलमा सबै विकेट गुमाएर जम्मा ८३ रनको झिनो योगफल बनायो । उसलाई सस्तैमा रोक्न बलिङमा बुद्धका नितेश पटेलले ४, अजय त्रिपाठीले २, सुरज गुरुङ, प्रवेज आलम अन्सारी र हरिकेष मुराउले समान १–१ विकेट लिए । शंकरनगरका रुपेश बस्यालले २१ र सुशान्त सुवेदीले १५ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
जवाफी ब्याटिङ गरेको बुद्धले १४ ओभर १ बलमा ५ विकेट गुमाएर ८५ रन बनाउँदै सहजै जित हात पार्यो । उसको जितमा सुरज पौडेलले २२, अमित अग्रहरीले २१ र अनुज चौहानले अविजित १७ रनको योगदान गरे । बलिङमा शंकरनगरका शिशिर लुईंटेलले ३ तथा विपिन भट्टराई र रुपेश बस्यालले १–१ विकेट लिए । खेलमा नितेश पटेल प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद एक लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए । प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग बाणिज्य संघले प्रायोजन गरेको छन् ।
यस्तै, म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रविकुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित गुप्ताले गरेका छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागिता छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय