लुम्बिनी क्षेत्रमा ५० उद्योग स्थापना गर्न चीनको चासो

२०८२ चैत्र ८, आईतवार
पढ्ने समय : 2 मिनेट

चैत ८
पछिल्लो समय चीनले लुम्बिनी प्रदेशमा शिक्षा, स्वास्थ्य र उत्पादनमूलक उद्योगमा लगानी र साझेदारीका लागि चासो दिन थालेको छ । यसअघि बुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनी बौद्ध विश्वविद्यालयमा साझेदारी कार्यक्रम अगाडि बढाएको छ ।
पछिल्लोपटक चिनियाँ कम्पनीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ५० वटा उद्योग स्थापना गर्न चासो जनाएका छन् । यसका लागि चिनियाँ कम्पनीले प्रदेश सरकार समक्ष लगानी र साझेदारीका लागि प्रस्ताव पेस गरेको हो । चिनियाँ कम्पनी जिङ्सेङ (हाइनान) इन्भेस्टमेन्ट होल्डिङ कम्पनी लिमिटेडले प्रदेश सरकारसँग विकास र रोजगारीका लागि सहकार्यको प्रस्ताव गरेको हो । कम्पनीले प्रदेशमा औद्योगिक विकास, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्ने उद्देश्यसहित सरकारसँग लगानी र रणनीतिक साझेदारी स्थापना गर्न चाहेको औपचारिक जानकारीसहित समझदारी पत्र (एमओयू) मा हस्ताक्षरका लागि प्रस्ताव गरेको छ ।माघ दोस्रो साता चिनियाँ कम्पनीले ५० उद्योग स्थापनाका लागि साझेदारीको प्रस्ताव गरे पनि सरकारले अहिलेसम्म कुनै निर्णय लिएको छैन । चुनावअघि आएको कम्पनीको टोली निर्वाचन आचारसंहिता लागू भएकाले फिर्ता भएको थियो । उक्त टोली बुधबार पुनः काठमाडौं आइपुगेको छ । सरकारसँगको समन्वयका लागि पहल गरिरहेका लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री विष्णु पन्थीले बुधबार काठमाडौं आइपुगेको चिनियाँ टोलीले बिहीबार प्रदेश योजना आयोगसँग छलफल गरेको बताए ।
‘संघीय सरकार लुम्बिनीमा लगानीका लागि सकारात्मक छ,’ उनले भने, ‘पहिलो चरणमा रूपन्देहीको सैनामैनामा ३० मिलियन डलर लगानीको बायो डिजल, मल र ऊर्जा उत्पादन कम्पनी स्थापना गर्ने गरी छलफल चलिरहेको छ ।’ तराईका खेतमा कृषिजन्य बस्तुहरू गहुँको डाँठ, धानको पराल जलाएर फाल्ने चलन छ । चिनियाँ कम्पनीले पहिलो चरणमा गहुँको डाँठ, पराल लगायतका किसानलाई उपयोग नहुने बस्तुहरू प्रशोधन गरेर बायो ऊर्जा उत्पादन गर्ने गरी उद्योग स्थापनाका लागि आवश्यक सहजीकरण र प्रक्रिया अघि बढाएको उनले बताए ।
चिनियाँ कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्टेवार्ड चोङले १ फरवरी २०२६ मा लुम्बिनी प्रदेश सरकारलाई सम्बोधन गर्दै पठाएको पत्रमा औद्योगिक विकास, नेपाली उत्पादनको ब्रान्डिङ र चीन निर्यात प्रवद्र्धनका विषयमा सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरेका छन।् उक्त पत्रमा चिनियाँ सरकारी अधिकारी र व्यवसायी संस्थाका साझेदार प्रतिनिधिले लुम्बिनी प्रदेशको आधिकारिक भ्रमण गर्ने र त्यस अवसरमा सरकारसँग ५० उद्योग स्थापनाका लागि समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गर्ने प्रस्ताव गरिएको छ । जिङ्सेङ (हाइनान) इन्भेस्टमेन्ट होल्डिङ कम्पनी लिमिटेडको प्रतिनिधिमण्डलले पहिलो चरणमा १ फरवरीमा विभिन्न जिल्लाको भ्रमण गर्दै प्रदेशका नीतिगत प्राथमिकता, औद्योगिक सम्भावना, लगानीमैत्री वातावरण तथा दीर्घकालीन विकासका विषयमा छलफल गर्ने प्रस्ताव पनि गरेका थिए ।
चीन, मलेसिया, युरोपमा भएका लगानीकर्ताले लुम्बिनीमा धेरै सम्भावना देखेको उनले बताए। । भारतसँगको सिमानामा कुनै समस्या नभएको र अन्तर्राष्ट्रिय विमानस्थलले पनि लगानीका लागि सहयोग गर्ने उनको विश्वास छ । प्रस्तावित समझदारी पत्रमा तीन प्रमुख क्षेत्रलाई सहकार्यको आधार बनाइएको छ । औद्योगिक विकास अन्तर्गत लुम्बिनी प्रदेशभित्र ५० वटा उत्पादनमूलक उद्योग तथा कारखाना स्थापना गर्ने प्रस्ताव हो । चीनमा नेपाली उत्पादनको निर्यात प्रवद्र्धनलाई सहकार्यको महत्वपूर्ण पाटो बनाउने उल्लेख छ । त्यसले चिनिया बजारमा नेपाली उत्पादनको पहुँच विस्तार हुने, द्विपक्षीय व्यापार सम्बन्ध सुदृढ बन्ने र नेपाली उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्य रहेको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय