कार्तिक १
बेइजिङस्थित नेपाली राजदूतावासले नेपालमा हालै ध्वस्त भएका ऐतिहासिक संरचनाहरू पुनःनिर्माणका लागि सहयोगको अपिल गरेको छ । भदौ २३ गतेको ‘जेन–जी’ प्रदर्शन र भदौ २४ गतेको विध्वंशमा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माणका निम्ति सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा सहयोग गर्न राजदूतावासले आह्वान गरेको हो ।
राजदूतावासले एक सूचना जारी गर्दै चीनमा रहेका नेपाली नागरिक, गैरआवासीय नेपाली समुदाय र चिनियाँ नागरिकलाई पुनःनिर्माण अभियानमा सहभागी हुन अनुरोध गरेको छ । सूचनामा भनिएको छ, “बेइजिङस्थित नेपाली दूतावास आफ्ना नागरिकहरू, गैरआवासीय नेपाली समुदाय, चिनियाँ समुदाय र अन्तर्राष्ट्रिय समुदायलाई नेपालको पुनःनिर्माणको राष्ट्रिय अभियानमा सहभागी हुन हार्दिक अपिल गर्दछ ।”
सहयोगका लागि दूतावासले राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर (१९६०१००१०२०७०००४) र क्युआर कोड सार्वजनिक गरेको छ ।
‘जेन–जी’ विध्वंशमा ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायत सयौँ सरकारी कार्यालयहरू ध्वस्त भएका थिए । ती संरचनाको पुनःनिर्माणमा ठूलो रकम आवश्यक पर्ने भएकाले सरकारले ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ खडा गरेको हो ।









