फागुन ४
भारत सरकारको आर्थिक सहयोगमा उदयपुर जिल्लाको श्री जनता बेलका माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ। ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा लिइएको उक्त भवनको उद्घाटन नेपाल सरकारका पूर्वपरराष्ट्रमन्त्री एवं प्रतिनिधि सभा सांसद डा. नारायण खड्का, नेपालका लागि भारतीय दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र उदयपुरको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले संयुक्त रूपमा गरेका थिए।नेपाल–भारत विकास साझेदारी अन्तर्गत भारत सरकारको अनुदानमा निर्माण सम्पन्न भएको यो विद्यालय भवन तथा अन्य पूर्वाधारको लागत ३.७९९ करोड रहेको छ। बेलका नगरपालिकामार्फत कार्यान्वयन गरिएको उक्त परियोजनाले स्थानीय समुदायका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर दिने विश्वास गरिएको छ।
बेलका नगरपालिकाको पुरन्दहमा अवस्थित श्री जनता बेलका माध्यमिक विद्यालय यस क्षेत्रको एक मात्र माध्यमिक विद्यालय हो। सन् १९६२ मा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको यो विद्यालय १९७६ मा निम्न माध्यमिक विद्यालयमा स्तरोन्नति भएको थियो भने सन् २००८ मा उच्च माध्यमिक तहमा पुर्याइएको थियो। हाल विद्यालयमा करिब ५०० विद्यार्थी अध्ययनरत छन्, जसमध्ये ५५ प्रतिशत छात्रा रहेका छन्।
कार्यक्रममा भारतीय दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपाल र भारतबीचको गहिरो र बहुआयामिक विकास साझेदारीको प्रशंसा गर्दै यस विद्यालय भवन निर्माण भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल उदाहरण भएको बताए। उनले नेपाल सरकारको प्राथमिकता अनुसार भारत सरकार सदैव विकास साझेदारका रूपमा साथ रहने प्रतिबद्धता व्यक्त गरे।
बेलका नगरपालिकाका मेयर अशोक कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत स्थानीय प्रतिनिधिहरूले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै निर्माण गरिएको विद्यालय भवनले विद्यार्थीहरूलाई सुरक्षित र सहज वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्ने बताए। उनीहरूले यस परियोजनाले नेपालका अन्य शैक्षिक संस्थाहरूलाई समेत गुणस्तरीय पूर्वाधार विकासमा प्रेरित गर्ने विश्वास व्यक्त गरे।भारत र नेपालबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउन शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा निरन्तर सहकार्य भइरहेको भारतीय दूतावासले जनाएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको जीवनस्तर सुधार गर्न नेपाल सरकारले चालेका विकास प्रयासमा भारत सरकारको निरन्तर सहयोग रहने प्रतिबिम्बित गरेको भारतीय पक्षले स्पष्ट पारेको छ।









