तेस्रो लुम्बिनी न्युज फेस्टिवलः ‘नेपाल–भारतका पत्रकारले विश्वसनीय सूचना प्रवाह गर्न जरुरी छ’

२०८२ पुष १४, सोमबार
पढ्ने समय : 3 मिनेट

भैरहवा पुस १४

तेस्रो लुम्बिनी न्युज फेस्टिवल अन्तर्गत पहिलो सेसन ‘सीमापार सम्बन्ध ः आवश्यकता र सम्भावना’ मा बोल्दै वक्ताहरुले पत्रकारहरुले सत्य, तथ्य र विश्वसनीय समाचार मात्रै प्रशासन गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल–भारतका पत्रकारहरुसहितको उक्त सेसनमा बोल्ने वक्ताहरुले संचारमाध्यमले हिंसालाई प्रश्रय दिन नहुनेमा जोड दिए ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजनामा लुम्बिनीमा भएको फेस्टिवलको पहिलो सत्रमा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अध्यक्ष निर्मला शर्माले ग्लोबलाइजेसनको अवस्थामा सीमापार सम्बन्ध अति आवश्यक रहेको बताइन् । ‘दैनिक जीवनसँग जोडिएका सवाल, दुई देशबीच कस्ता नीति बनाउने विषय र समस्या समाधानका लागि पनि मिडियाको भूमिका महत्वपूर्ण छ’, उनले भनिन्, ‘नेपाल र भारतको पत्रकारिताबीच सकारात्मक सम्बन्ध विकास गर्न आवश्यक छ । एकअर्का देशको विषयमा तथ्यहीन र सतही आरोप र लाञ्छना लगाउने काम बन्द गर्नु पर्छ, यसले दुबै देशका पत्रकार असुरक्षित हुन्छन् ।’
एकअर्काको देशलाई हस्तक्षेप गर्न नहुने भन्दै सकारात्मक पक्षलाई ख्याल गर्नुपर्ने उनको जोड छ । ‘मिथ्या र गलत सूचना प्रवाह नगरौं । मिथ्या र गलत सूचना प्रवाह रोक्न वहस र छलफल जरुरी छ । नीतिगत संशोधन पनि आवश्यक छ’, उनले भनिन् । आचारसंहिता पालनामा दुबै मुलुकको सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको जनाउँदै शर्माले कुनै पनि हिंसालाई प्रश्रय दिन नहुने भन्दै दुबै देशका मिडिया र पत्रकारले ध्यान पुर्याउन आग्रह गरिन् ।
नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेलले छिमेकी फेर्न नसकिने जनाए । ‘सँगसँगै बाँच्ने, अघि बढ्नुपर्ने भएकाले मिल्नुको विकल्प छैन’, दुवै देशका पत्रकारहरुलाई सुझाव दिँदै उनले भने, ‘पत्रकारिताले समस्या मात्र देखाउने हैन, समाधान दिनुपर्छ । सोलुसन जर्नालिजम आवश्यक छ । युरोपका सेनजेन देशहरुको समूहको सीमा मोबाइल नेटवर्कले मात्र छुट्टाउँछ, देशको भौगोलिक सीमाले होइन ।’
त्यस्तै भारतसँग संस्कार, संस्कृति र भाषामा समानता र सहतजा भएकाले दुई देशबीच सीमापार सम्बन्ध आवश्यक रहेको जोड दिए । ‘दुई देशबीच देखिने गलत बुझाईलाई मिडियाले चिर्न सक्नुपर्छ । अप्रमाणित सूचना प्रवाह गर्नुहुँदैन । दुई देशबीचको द्वन्द्वमा मिडियाले शान्ति पत्रकारिता गर्नु आवश्यक छ । पत्रकार र मिडियाले आमाले छोरा छोरीलाई म तिमीलाई माया गर्छु भने पनि प्रश्न गर्न र साँच्चै माया गरेको हो होइन भेरिफाइ गर्नुपर्छ’, उनले भने ।
भारतका बरिष्ठ पत्रकार सञ्जय सिंहले साथी बदल्न सकिने तर छिमेकी बदल्न नसकिने जनाए । ‘नेपाल दुई ठूला शक्ति राष्ट्रको बीचमा भए पनि भारतसँग सांस्कृतिक सम्बन्ध रहेको र यसलाई थप प्रगाढ बनाउन आवश्यक छ । पर्यटन विकासमा भारतको साथ महत्वपूर्ण छ । पर्यटन विकासका लागि बौद्ध सर्किट बनाउन आवश्यक छ’, उनले भने । सारनाथ, कुशिनगर र लुम्बिनीलाई जोड्न सकिनेमा उनले जोड दिए । ‘भारतमा रामजानकी सर्किट बनेको छ, त्यसैले अयोध्यासँग जनकपुरलाई जोड्नुपर्छ’, उनले भने । फेक न्यूजबाट बच्न दुई देशका पत्रकारबीच सही सूचना आदानप्रदान गर्न सकिने उनको भनाई छ । ९० प्रतिशत मिथ्या सूचना न्यू मिडियाबाट प्रवाह हुने गरेको उनले जनाए ।‘यो विश्वव्यापी समस्या हो । रोक्न न्यू मिडिया सञ्चालकलाई पत्रकारिता शिक्षा र प्रशिक्षण आवश्यक । भ्युज बढाउने र पैसा आर्जन गर्ने उद्देश्यका कारण न्यू मिडियाले मिथ्या सूचनालाई प्रवाह गरिरहेका छन् । उनीहरुलाई पत्रकारिताको मूल्य मान्यतामा बांध्न अपरिहार्य छ । यसमा प्रेस काउन्सिल जस्ता संस्थाको भूमिका सशक्त र प्रभावकारी बनाइनुपर्छ । नेपाल र भारतबीच सांस्कृतिक, सामाजिक सम्बन्ध थप प्रगाढ बनाउन आवश्यक रहेको र यसमा दुबै देशका पत्रकार र मिडियाले पुलको काम गर्न सक्ने बताए ।
सिक्किम प्रेस क्लबका अध्यक्ष भिम राउतले टाढाको देउता भन्दा नजिकको भूत काम लाग्छ भन्ने उखान सही रहेको जनाए । दुई देशको समृद्धिका लागि सहकार्य आवश्यक रहेको उनले जोड दिए । ‘सिक्किम र नेपाललाई दुई देशको पर्यटन प्रवद्र्धनमा जोड्न सकिन्छ । कन्चनजंगा पार्क र चितवन राष्ट्रिय निकुन्जको पर्यटन प्रवद्र्धनमा दुई देशबीच साझेदारी गर्न सकिन्छ’, उनले भने ।
पत्रकार र पत्रकारितामाथि प्रश्न उठेको जनाउँदै विश्वसनियतामाथि प्रश्न उठ्न दिन नहुने बताए । राउतले भने, ‘छिटो सूचना दिने नाममा कतिपय अवस्थामा सरकारी सञ्चारमाध्यम र मूल धारका मिडियाले पनि गलत सूचना दिने गर्दा मिडियामाथि अविश्वास बढ्छ । यद्यपि नेपालको पत्रकारिता राम्रो छ, यसबाट हामीले सिक्नुपर्छ’, उनले भने । नेपालको पत्रकारितामा राजनीतिले धेरै स्थान पाएको उने जनाए । ‘सिक्किमलाई विश्वकै पहिलो अर्गानिक राज्य, कन्चनजंघाको राज्य भनेर चिनाउन चाहन्छौं । लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिन्छ’, उनले भने । गोष्ठी, सेमिनार मार्फत दुई देशका नीति निर्मातालाई जोड्न सकिनेमा उनले जोड दिए ।
लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख दयानिधि गौतमले वेद र बुद्ध नेपाल र भारत दुबै देशका साझा सम्पदा भएकाले दुई देशबीचको सम्बन्ध अरु देश संगको भन्दा बेग्लै महत्वको रहेको बताए । उनले मिथ्या सूचना रोक्न पत्रकारले भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले बौद्ध विश्वविद्यालयले विश्वविका धेरै देशलाई जोड्ने काम गरेको बताए । यो सेसनको लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले सहजकर्ताको भूमिका निभाएका थिए ।
महोत्सवमा छिमेकी मुलुक भारतबाट ४० जना सहित दुई सय बढी पत्रकारको सहभागीता थियो । कार्यक्रममा उद्योगी, व्यवसायी, सामाजिक संघसंस्थाको पनि सहभागिता थियो । फेस्टिवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय