भैरहवा असोज २२
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सोमबार ठुलो परिमाणको शङ्कास्पद खरबुजाको बिउ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ४, डन्डा बाट बा.प्र.०३–००१ ख १६८४ नम्बरको मिनी ट्रकलाई शङ्का लागेर जाँच गरेको थियो ।
जाँचका क्रममा मिनी ट्रकमा १२५ बोरा (५० क्विन्टल) खरबुजाको बीउ फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेश कार्कीले जानकारी दिए । बरामद सामानको अनुमानित १० लाख रुपैयाँ र मिनी ट्रकको अनुमानित मूल्य १० लाख रुपैयाँ रहेको उनले बताए ।
प्रहरीले सोमबार नै मिनी ट्रकका चालक रुपन्देही, मायादेवी गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष २२ का राजकुमार मल्लाह लाई समेत नियन्त्रणमा लिएको थियो ।
प्रहरीले नियन्त्रणमा लिएको मिनी ट्रक, खरबुजाको बीउ र चालकलाई थप अनुसन्धान तथा कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको सापकोटाले जनाए ।
नियन्त्रणमा लिइएको खरबुजाको बीउ राजस्व छली वा अन्य कुनै शङ्कास्पद गतिविधिमा संलग्नता भए÷नभएको विषयमा राजस्व कार्यालयले थप छानबिन गर्ने उनले बताए ।नेपालमा निर्यातका लागि उत्पादन नहुने मकै, मटर, ओखर, खरबुजाको बिया लगायतका बस्तुहरू तस्करहरूले तेस्रो मुलुकबाट आयात गरि अवैध बाटो हुँदै भारत पठाउने गरेका छन् ।
यसका लागि नेपाल भारतको सीमा नजिकैको ठेगाना राखी त्यहाँसम्म निर्बाध रूपमा ढुवानी गर्ने गरेको छन् । सीमामा पुगेका यस्ता बस्तुहरू रातीको समयमा भरियाहरूको प्रयोग गरि सीमा कटाउने गरिएको छ ।









