सकियो दशैं सस्तो बजार ः १० हजार बढी उपभोक्ता, ३५ लाखको कारोबार

२०८२ आश्विन १३, सोमबार
पढ्ने समय : < 1 मिनेट

 

भैरहवा असोज १३
रुपन्देहीको भैरहवामा सञ्चालित ‘दशैं सस्तो बजार–२०८२’ मा करिब ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा असोज ८ देखि १२ गतेसम्म बजार सञ्चालन भएको थियो ।पाँचदिने बजारमा ५० देखि ६० लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएकोमा ३५ लाख बराबरको कारोबार तथा १० हजार बढी उपभोक्ता एवं अवलोकनकर्ताको उपस्थिति भएको संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताएका छन । बजारमा १९ वटा स्टलहरु रहेको आचार्यले जानकारी दिएका छन ।
सिद्धार्थनगर नगरपालिका–१२ कालिकापथस्थित संघको परिसर (भवन) मा सञ्चालित बजारमा दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडा, घरेलु उत्पादन लगायतका स्टलहरु रहेको अध्यक्ष आचार्यले बताएका छन।बजारमा उपलब्ध मुस्ताङको स्याउदेखि स्थानीयस्तरमा उत्पादित वस्तुहरु उपभोक्ताले खरिद गरेको आचार्यको भनाइ छ। आगामी दिनमा पनि मेला, महोत्सव र दशैं सस्तो बजारलाई निरन्तरता दिइने अध्यक्ष आचार्यले बताएका छन ।
आम उपभोक्तालाई सस्तो, सुलभ र गुणस्तरीय वस्तु तथा सेवाहरु एकै थलोबाट उपलब्ध गराउने, स्वदेशी तथा स्थानीय उत्पादनको उपभोग प्रवद्र्धन गर्ने, उचित मूल्यबारे उपभोक्ता सचेतना बढाउने, उपभोक्तालाई सस्तो सामान उपलब्ध गराउनका लागि निःशुल्क स्टल उपलब्ध गराउने र दशैं, तिहार, छठ पर्व लगायतका महान पर्वहरुमा स्थानीय बजारलाई सक्रिय बनाउने उद्देश्यले दशैं सस्तो बजार सञ्चालन गरिएको आचार्य बताए।
अध्यक्ष आचार्यका अनुसार संघले भैरहवामा पहिलोपटक वि.सं. २०५८ सालमा दशैं र तिहार बजार, दोस्रोपटक २०५९ सालमा, तेस्रोपटक २०७९ सालमा र चौथोपटक २०८० सालमा दशैं बजार सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
संघका महासचिव कृष्ण प्रसाद घिमिरेले दशैं सस्तो बजारमा उपभोक्ताको भिड लागेको बताएका छन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय