बैशाख ४
नेपालमा पहिलोपल्ट भारतीय गुजराती माटोबाट उत्पादन गरिने टायल्स उद्योग सञ्चालनमा आएको छ। बाराको जीतपुर सिमरा– ८ इमली पर्तीटोलको साढे ५ बिघा क्षेत्रफल जग्गामा करिब १ अर्बको लगानीमा नेपाल सेरामिक इन्ड्रस्ट्रिज संचालनमा आएको हो।
उद्योगले फागुनको अन्तिम सातादेखि परीक्षण उत्पादन शुरु गरेको उद्योगका प्रमुख प्रशासकीय अधिकृत नागेश्वर जयसवालले बताएका छन ।



उद्योगका लगानीकर्ता हार्डवेयर तथा सम्बद्ध सामाग्रीका व्यवसायी हुन्। वीरगंजका मनोज रौनियार र जनकपुरका शम्भु झा को साझेदारीमा यो उद्योग स्थापना भएको हो। करिब तीन वर्षदेखि जग्गा खरिद र निर्माणको काम सम्पन्न भइसकेपछि हाल उद्योग सञ्चालनमा ल्याइएको जयसवालको भनाइ छ।
उद्योगले २४ घण्टामा २ गुणा २ वर्गफिटको सात हजार प्याकेट (एक प्याकेटमा २ गुणा २ वर्गफिटको चार पिस) टायल्स उत्पादन गरिरहेको छ। अर्थात् २४ घण्टामा १७५ टन टायल्स उत्पादन गरिरहेको उनले जानकारी दिए। नेपोभिट टायल्सको ब्रान्ड एम्बेस्डरमा महानायक राजेश हमाललाई चयन गरिएको छ ।
उद्योगमा हाल १४ महिलासहित ३७ जना स्वदेशी र १४० जना भारतीय कामदार तथा प्राविधिकले काम गरिरहेका छन्। लगानीकर्तामध्येका वीरगंजका व्यवसायी मनोज रौनियार २० वर्षदेखि वीरगंजमै टायल्ससम्बन्धी कारोबार गर्दै आएका छन्।
उनको वीरगंज लिंकरोडमा नेपाल सेनेटरी, सगरमाथा सप्लायर्स पसल छ। जनकपुरका व्यवसायी शम्भु झा को काठमाडौं मा हार्डवेयरको डिलर छ। नेपालमा यस्तो उद्योग नभएकाले दुवैजनाले साझेदारीमा उद्योग स्थापना गरेको बताएका छन ।
यो उद्योग सञ्चालनमा आएपछि नेपालको व्यापार घाटा कम हुने विश्वास उद्योगले लिएको छ। वीरगंजबाट दुई हजार किलोमिटर टाढा भारत, गुजरात बाट कन्टेनरमा टायल्स बनाउने माटो रेलमार्गबाट ल्याएर प्लान्टमा प्रशोधन गरी टायल्स बनाउने गरिन्छ। टायल्स बनाउने डिजिटल गिलेज्ड भर्टिफाइड प्रविधिको मेशिनहरु चीन र इटालीबाट ल्याइएको हो। यस्तो उद्योग नेपालसँगै भारतको बिहार र उत्तरप्रदेशमा नरहेको उद्योगीहरुको दाबी छ।
नेपालमा पछिल्लो समयमा टायल्सको खपत र व्यवसाय बढ्दै जाँदा भारत तथा तेस्रो मुलुकबाट आयातित टायल्सले व्यापार घाटा बढ्ने भएर यो उद्योगले नेपालमै बाहिरको टायल्सभन्दा सस्तो पाइने र व्यापार घाटा कम हुने अनुमान गरिएको छ।
अहिले यो उद्योगले दुई गुणा दुई वर्गफिट आकारको टायल्स उत्पादन गरिरहेको छ ।भने आगामी दिनमा दुई गुणा चार वर्गफिट आकारमा टायल्स उत्पादन गर्ने लक्ष्य राखेको छ।
विदेशी टायल्स नेपालमा अहिले ग्राहकले दुई गुणा दुई वर्गफिटको चारवटा टायल्स भएको एउटा प्याकेट १५ सय रुपैयाँमा किनिरहेका छन् । भने यो उद्योगले डिलरहरुको लागि चार पिस टायल्सको एउटा प्याकेटको मूल्य ११ सय रुपैयाँ मात्र राखेको जानकारी दिएको छ। उपभोक्ताले स्वदेशी टायल्स खरिद गर्दा ५० देखि सय रुपैयाँसम्म कम पर्ने उद्योगले दाबी गरेको छ।



