चैत १८,
रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्डमा ठाउँ अभाव कै कारण बिजुलीको पोल सार्ने काम रोकिएको छ । स्याफ्रु र टिमुरेको बस्ती नसारिएको र केही क्षेत्रमा पोल गाड्ने ठाउँ नै नभएका कारण पोल सार्ने काम रोकिएको हो ।



स्याफ्रु र टिमुरेमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले राइट अफ वे दिएपछि मात्र बाँकी क्षेत्रमा काम अघि बढाउन सकिने नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ ।
केन्द्रका प्रशासन प्रमुख तथा सूचना अधिकारी दीप रमण अधिकारीका अनुसार योजनाले बस्ती सारेको खण्डमा एक महिनाभित्रमा काम सम्पन्न हुनेछ । ‘हामीलाई ठाउँ अभावका कारण पोल सार्न समस्या भएको हो’, उहाँले भन्नुभयो, ‘साइड क्लियर भएमा एक महिनाभित्र नै काम सम्पन्न हुन्छ ।’ २०७६ चैतदेखि पोल सार्ने काम सुरु भएको थियो ।
सडक खण्डमा पर्ने तीन सय २५ वटा पोल हटाउनुपर्नेमा अब केही मात्र बाँकी रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ । योजना प्रमुख निरज शाक्यका अनुसार केही स्थानीयवासीलाई मुआब्जा दिन बाँकी रहेकोले यसका लागि केही दिन अघि यसको उपसमिति निर्माण गरिएको छ । ‘उपसमितिले मुआब्जा निर्धारणबारे निर्णय गरेर मुआब्जा वितरण गरेपछि सडक चौडा गर्ने कार्य सुरु हुन्छ’, योजना प्रमुख शाक्यले भन्नुभयो, ‘यसपछि बाँकी पोल सार्ने काम सुरु हुन्छ ।’
नेपाली पक्षले समयमा नै काम गर्न नसकेका कारण सडकको स्तरोन्नति सुरु हुन अझै केही समय लाग्ने देखिएको छ । तर योजना प्रमुख शाक्यले कोभिडको कारण देखाएर चिनियाँ पक्ष नआएको बताउनुभयो । २०७७ चैतदेखि चिनियाँ पक्षले स्तरोन्नति गर्ने योजना अघि सारेको थियो । नेपाली पक्षले गर्नुपर्ने काम समयमा नै नसकिएको र कोभिड–१९ को दोस्रो लहरका कारण काम पछि धकेलिएको छ ।
गएको पुस महिनाभित्र पोल सार्नुपर्ने काम सकाउनुपर्ने भए पनि विविध कारणले चैत महिनासम्मको म्याद थप गरिएको थियो । सडक खण्डमा रहेका बिजुलीका पोल सार्ने, सडक क्षेत्रमा पर्ने घर टहरा हटाउने र तातोपानी क्षेत्रका प्रभावितलाई मुआब्जा दिने काम नेपाली पक्षले गर्नुपर्ने छ । यी तीन वटै काम सकिएपछि चिनियाँ पक्षले काम अघि बढाउने छ ।
रसुवागढी नाका जोड्ने यो सडकको २०७६ असोजमा नै चिनियाँ पक्षले स्तरोन्नति सुरु भएको घोषणा गरेको थियो । नेपाली पक्षले साइड क्लियर गरेपछि स्तरोन्नति अघि बढाउने बताएर टोली चीन फर्किएको थियो । त्यसको केही महिनापछि विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण काम प्रभावित भयो ।
३९ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी चिनियाँ टोलीले काम अघि बढाएको भए पनि कोभिड–१९ ले पनि यसलाई प्रत्यक्ष असर ग¥यो । स्याफ्रु–रसुवागढी सडकको दुरी १७ किलोमिटर रहेको छ । यसमा चिनियाँ पक्षले १५ दशमलव ८ किलोमिटर स्तरोन्नति गर्ने छ । यो अहिले एक लेनको कच्ची सडक हो । चिनियाँ पक्षले कालोपत्रसहितको दुई लेनको सडक बनाउने छ ।
यो सडक खण्डको स्तरोन्नति चीन सरकारको अनुदान सहयोगमा हुन लागेको हो । योजनाका अनुसार टिबेट थियानलु कम्पनी लिमिटेडले सडकको स्तरोन्नति गर्नेछ । स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ ।
यो सडक चीन सरकारले स्तरोन्नति गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । गल्छीदेखि रसुवागढीसम्मको सडकलाई तीन भागमा वर्गीकरण गरेर काम गरिँदै छ । गल्छी–मैलुङ पहिलो खण्ड, मैलुङ–स्याफ्रु दोस्रो खण्ड र स्याफ्रु–रसुवागढी सडक तेस्रो खण्ड हो । गल्छीदेखि रसुवागढीसम्म ८२ किलोमिटर दुरी रहेको छ ।



